काठमाडौं: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभामा देखिएको अवरोध अन्त्यका लागि राजनीतिक तहमा संवाद जारी रहेको र चाँडै समाधान हुने बताएका छन् ।
विराटनगरमा आज बिहान पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै प्रधानमन्त्री प्रचण्डले पछिल्लो गतिरोधको समाधान राजनीतिक संवादबाटै समाधान हुने बताए । त्यसका लागि राजनीतिक तहमा संवाद थालिएको उनको भनाइ थियो ।
प्रधानमन्त्री प्रचण्डले सहकारीसँग सम्बन्धित समग्र विषय अलग र राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं गृहमन्त्री रवि लामिछानेसँगको विषय अलगै अध्ययन गरेर समस्याको समाधान गर्न सकिने विश्वास व्यक्त गरे ।
प्रधानमन्त्रीले प्रतिपक्ष दलले सहकारी क्षेत्रमा देखिएको समस्या समाधान गर्नेभन्दा पनि गठबन्धन फेरिएपछि राजनीतिक मुद्दा बनाइएको दाबी गरे ।
लामिछानेलाई नै केन्द्रमा राखेर समितिको माग गरिएको छ, त्यो मिल्ने कुरो छैन," प्रधानमन्त्री प्रचण्डले भने, "मैले सदनमा जवाफ दिँदा अनुसन्धानकर्तादेखि सम्बन्धित निकायका प्रमुख र सम्बन्धित जिल्लाका अधिकारीसँग के हो यो ‘केस’ भनेर सोधेको थिए । उहाँहरूले यस ‘केस’ मा रविजीलाई अनुसन्धान गर्ने ठाउँ छैन भन्नुभयो, सोही आधारमा मैले बोलेको हुँ ।"
दाहालले भने, ' पहिले हामीसँगै कांग्रेस सरकारमा थियो, त्यतिखेर यो मुद्दा सामान्य थियो, सरकारबाट निस्केपछि रविजीलाई केन्द्रमा राखेर समितिको माग गरिएको छ, यो राजनीतिक पूर्वाग्रहमा आधारित छ ।'