काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दलका अध्यक्ष, पूर्व प्रधानमन्त्री, मन्त्री लगायत सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरेका छन् ।काठमाडौंको चाबहिलस्थित पशुपति मित्र माविको हीरक महोत्सवमा बुधबार महामन्त्री थापाले कांग्रेस, एमाले, माओवादी सबै दलका अध्यक्ष र प्रधानमन्त्री भएका सबैको सम्पत्ति छानबिन हुनुपर्ने बताएका हुन् ।
संसदमा पछिल्लो समय ०४७ यताका सार्वजनिक पद धारण गरेकाहरूको सम्पत्ति छानबिन गरिनुपर्ने कुरा उठेको र यो विषय सकारात्मक भएको थापाले बताए । तर यसका लागि कानून आवश्यक रहेको उनको भनाइ छ । कानून बनाउन आफूले पनि संशोधन हालेको थापा बताउँछन् ।
महामन्त्री थापाले भने ‘कांग्रेस, एमाले, माओवादी अध्यक्षको, अहिलेको प्रधानमन्त्रीको, पूर्व प्रधानमन्त्रीको, हामीजस्ता मन्त्री भएका मानिसको सम्पत्ति छानबिन गरौं,’।‘जति पनि ठूला काण्ड र प्रकरण छन् ती सबैमा जिम्मेवार मानिसलाई कहीं न कहीं दण्ड पाउनु पर्छ भनेर डर सिर्जना गरौं ।नागरिकहरूलाई राज्यसँग भर होस्, गलत गरेकालाई राज्यसँग डर होस् ।’
सार्वजनिक सम्पत्ति अपचलन र सहकारी प्रकरणमा मुछिएकाहरूमाथि पनि छानबिन गरी कारबाही गरिनुपर्ने उनले बताए । राजनीतिक दलका र जतिसुकै शक्तिशाली भए पनि गलत ग¥यो भने दण्ड पाउँछ भन्ने कुरा स्थापित गरिनुपर्ने उनले बताए ।