काठमाडौं — प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ। मंगलबार नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने माथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग राख्दै गरेको अवरोधले प्रतिनिधि सभा आजका लागि सारिएको हो।
बैठकमा कांग्रेसका सांसदहरूले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्न माग राख्दै सदनमा उभिएर विरोधमा उत्रिएका थिए।
सांसदहरूले संसद्मा निरन्तर अवरोध जनाएपछि सभामुखले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए। तर, कांग्रेसले संसद् चल्न नदिने भएपछि सूचना टाँस गरेर बैठक स्थगित गरियो।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले त्यसका लागि संसदीय छानबिन समिति गठन नभए आजको बैठक अवरुद्ध गर्ने चेतावनी दिएको थियो।
यस्ता छन् सम्भावित कार्यसूची
नयाँ बानेश्वरस्थित संसद भवनमा बिहान ११ बजे बस्ने आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले प्रश्नहरूको जवाफ दिने कार्यसूची रहेको छ । मन्त्री भण्डारीले आज सांसदहरूले सोधेको प्रश्नमा जवाफ दिन लागेका हुन् । यस्तै आजको बैठकमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८०’ पेश गर्नेछन्।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले ‘राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगको पाँचौ वार्षिक प्रतिवेदन, २०८०’ पेश गर्नेछन् भने अर्थमन्त्री वर्षमान पुनले ‘बैँक तथा वित्तीय संस्था सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस्,’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन्।
त्यसैगरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदम गिरीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विधायक सम्बन्धी विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पेश गर्नेछन् भने उद्योग मन्त्री भण्डारीले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘विद्युतीय व्यापार विधेयक, २०८० लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ।