काठमाडौं । राष्ट्रिय सभाको उपाध्यक्ष पदमा आज उम्मेदवारको मनोनयन दर्ता हुँदैछ । उपाध्यक्षका लागि बुधबार निर्वाचनको मिति तोकिएको छ । त्यसका लागि मंगलबार संसद् सचिवालयमा उम्मेदवारको मनोनयन दर्ताको समय तोकिएको हो ।
बिहान ११ बजेर ४५ मिनेटदेखि १ बजेर ४५ मिनेटसम्म उपाध्यक्ष पदमा निर्वाचित गरियोस् भनी प्रस्तावको सूचना दर्ता गरिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ।
संसद् भवनको ल्होत्से हलमा मनोनयन दर्ताका लागि स्थान तोकिएको छ । संविधानले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्षमध्ये एकजना महिला र फरक–फरक दलको हुनुपर्ने व्यवस्था गरेको छ । जसअनुसार राष्ट्रिय सभाको अध्यक्षमा पुरुष निर्वाचित भइसकेकाले अब उपाध्यक्षमा महिलाले मात्रै उम्मेदवारी दिन पाउनेछन् ।
फागुन २१ गते सत्ता समीकरण परिवर्तन भएपछि राष्ट्रिय सभाको उपाध्यक्ष पद एमालेले पाउने सहमति भएको थियो तर एकीकृत समाजवादीले समेत सो पदमा दाबी गर्दै आएको छ।
राष्ट्रिय सभामा हाल ५८ सदस्य छन्। माओवादी केन्द्रका १७, नेपाली कांग्रेसका १६, एमालेका १०, एकीकृत समाजवादीका ८ , लोकतान्त्रिक समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनमोर्चाका एक–एक तथा दुई जना मनोनीत सदस्य छन्।
सत्ता गठबन्धन दलले गठबन्धन गरेर एउटा मात्रै उम्मेदवार उठाउने सहमति गरे पनि अहिले एमाले र एकीकृत समाजवादी दुवैले दाबी गरिरहेका छन् । एमालेबाट विमला घिमिरे र एकीकृत समाजवादीबाट मदनकुमारी शाहलगायतले राष्ट्रिय सभाको उपाध्यक्ष पदमा दाबी गरिरहेका छन्। राष्ट्रिय सभामा गठबन्धन दलको मत ३७ छ ।
यस्तै प्रतिपक्ष दल नेपाली कांग्रेसले आजै बिहान मात्र विष्णुदेवी पुडासैनीलाई उम्मेदवार निर्णय गरेको छ।
राष्ट्रिय सभाकी तत्कालीन उपाध्यक्ष उर्मिला अर्यालले यही चैत १५ गते पदबाट राजीनामा दिएपछि उपाध्यक्ष पद खाली भएको हो।
मंगलबार दर्ता भएको मनोनयन बुधबार निर्णयार्थ पेस हुनेछ ।