करातेकी खेलाडी एरिका गुरुङलाई अमेरिकामा नगदसहित सम्मान गरिएको छ। ११ औं दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता सुनिल लामाले स्थापना गरेको च्याम्पियन मार्सल आर्ट्स क्लब युएसएको आयोजनामा एरिकालाई ७ हजार ११ अमेरिकी डलर ९९ लाख ३२ हजार ४ सय ६३ रुपैयाँ० र प्रमाण पत्र सहित सम्मान गरिएको हो।
युएसए ओपन कराते च्याम्पियनसिपमा भाग लिनका लागि अमेरिका पुगेकी एरिकालाई सम्मान गरिएको हो । उनलाई तमु परिवारले २ हजार ७ सय ५६,तमु सोसाईटीले ९ सय ५३, सुदुर पश्चिम समाजले ५ सय ५० ,इन्टरनेशनल मार्सल आर्ट्स एसोसियसन न्युयोर्कले १ सय ९०, मामा भान्जा ग्रुपले १ हजार १०, रेड पाण्डाले २ सय अमेरिकी डलर तथा बाँकी च्याम्पियन मार्सल आर्ट्स, खेलाडी, समाजसेवी तथा अन्य सहोगीहरुबाट रकम संकलन भएको सागका स्वर्ण पदक विजेता लामाले जानकारी दिए।
युएसए ओपनमा १८ देखि २१ वर्षको ६८ केजी तौल समूहमा स्वर्ण पदक जितेकी एरिकाले सोही तौल समूहको सिनियरमा रजत पदक जितेकी थिइन्। गत असोजमा चीनमा भएको १९ औं एसियाडमा एरिकाले रजत पदक जितेकी थिइन्। एसियाडमा रजत पदक जित्ने एरिका पहिलो नेपाली कराते खेलाडी हुन्।
लामाको सभापतित्वमा भएको कार्यक्रममा १३औं एसियाडका कास्य पदक विजेता सम्बर बहादुर गोलेले एरिकालाई सम्मान गरेका थिए।
सो अवसरमा राष्ट्रिय तथा अन्तरराष्ट्रिय खेलाडी संघका अध्यक्ष समेत रहेका आठौ र नवौं सागका स्वर्ण पदक विजेता दीपक श्रेष्ठ, १३ औं सागका स्वर्ण पदक विजेता
अनु अधिकारी र विप्लभलाल श्रेष्ठलाई पनि सम्मान गरिएको थियो।
हाल अमेरिका बस्दै आएकी अनुले पनि युएसए ओपनमा १६ देखि ३४ वर्षको समूहमा स्वर्ण पदक जितेकी थिइन्। विप्लभलर पनि युएसए ओपनमा भाग लिएका थिए। एरिका र विप्लभको प्रशिक्षकमा कुशल श्रेष्ठ र दीपक श्रेष्ठ थिए।
दुई महिनाअघि न्युयोर्कमा सुरु भएको च्याम्पिनसिप मार्सल आर्ट्समा नेपाली समुदायका बालबालिका लागि हरेक आइतबार निःशूल्क ताईची र छि गुंग कक्षा सञ्चालन गर्ने लामाले घोषणा गरेका छन्। च्याम्पियन्स मार्सल आर्ट्स काठमाडौंको बालाजुमा ४ वर्ष अघिबाट सन्चालनमा छ।