काठमाण्डौ। सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले आज प्रदेश सभाबाट विश्वासको मत लिंदै हुनुहुन्छ । तत्कालीन सहयात्री दलहरूले साथ छोडेपछि आफ्नो पक्षमा बहुमत जुटाउन उहाँले विश्वासको मत लिन लाग्नु भएको हो।
उहाँले मंगलबार बिहान विश्वासको मत लिने प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराउनुभएको हो।
गत फागुन अन्तिम साता नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) पार्टी सरकारबाट हटेका थिए । सरकारले कुनै पनि पार्टीको साथ गुमाएपछि सदनबाट विश्वासको मत लिनुपर्ने कानुनी प्रावधान रहेको छ ।
केन्द्रमा सत्ता समीकरण फेरिएपछि मुख्यमन्त्री शाहले २२ फागुनमा माओवादी केन्द्रका मन्त्रीहरुलाई बर्खास्त गर्नुभएको थियो।
३ बजे बोलाइएको बैठकमा मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहनु भएको नेपाली काङ्ग्रेसबाट प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य प्रकाशबहादुर बमले बताउनुभयो ।
संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्री शाहले ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्छ । साथै विश्वासको मत लिने सूचना दुई दिनअघि नै प्रदेशसभालाई दिनुपर्ने नियमावलीमा व्यवस्था छ। त्यसअनुसार मुख्यमन्त्री शाहले सूचना दिनुभएको हो । तर उहाँसँग अझै बहुमत छैन। प्रदेशसभाको सबैभन्दा ठूलो दल कांग्रेसका १८ सांसद छन् । ५३ सदस्यीय प्रदेशसभामा बहुमतका लागि २७ सांसद चाहिन्छ।
गठबन्धनसँग माओवादीका १० (सभामुख बाहेक), एमालेका १० र एकीकृत समाजवादीका ४ सांसद छन्। त्यसैले गठबन्धनलाई नयाँ सरकार गठनका लागि बहुमत जुटाउन पनि नागरिक उन्मुक्ति पार्टीकै समर्थन चाहिन्छ।
नागरिक उन्मुक्ति पार्टी सरकारलाई समर्थन गर्ने/नगर्नेबारे चर्को विवाद छ। सरकारमा नभएका नाउपाका अरु दुई सांसद समर्थन नगर्ने पक्षमा देखिएका छन् ।