काठमाडौँ । आगामी वैशाख १५ गते इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा (१) मा हुने उपनिर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार टुङ्गो लगाउन नेपाली कांग्रेस संसदीय बोर्ड र केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ । पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा साढे २ बजेबाट बैठक सुरु भएको हो ।
कांग्रेसको निर्वाचन क्षेत्रीय समिति, जिल्ला र प्रदेश कार्यसमितिले उम्मेदवारका आकांक्षीको नाम केन्द्रमा सिफारिस गरिसकेका छन् ।
इलाम - २ का लागि कांग्रेसबाट जिल्ला सभापति डम्बर खड्का, नेताहरू भेषराज आचार्य, केशव थापा, नगेन्द्र कुमाल, रमेश लिङ्देन, चन्द्रमाया लिम्बू र शशिकला राई गरी सात जनाको नाम सिफारिस भएको छ ।
एमालेले इलाम - २ मा सुहाङ नेम्बाङ, रास्वपाले मिलन लिम्बु, राप्रपाले लक्ष्मी गुरुङ, एकीकृत समाजवादीले जितबहादुर राई, जनमतले पे्रमदीप थाम्सुहाङलाई उम्मेदवार बनाएका छन् । यस्तै पहिचानवादी समूहले डकेन्द्र थेगिमलाई स्वतन्त्र उम्मेदवारका रूपमा अगाडि सारेको छ ।
यस्तै कांग्रेसका मातहत कमिटीले बझाङ प्रदेशसभा (१) का लागि १० जनाको नाम सिफारिस गरेको छ । जसमा सत्यराज भण्डारी, विष्णुकुमार सिंह, जगतप्रसाद जोशी, अभिषेक सिंह, नन्दकृष्ण जोशी, लोकेन्द्रबहादुर रोकाया, शान्तिकुमारी बोहरा, अर्जुन स्याडाँ, ध्रुवराज उपाध्याय र नारायण हमालको नाम रहेको छ ।
बझाङ प्रदेशसभामा एमालेले दमनबहादुर भण्डारी, एकीकृत समाजवादीले दिलबहादुर सिंहलाई उम्मेदवार बनाएको छ । माओवादी केन्द्र प्रदेश कमिटीले इलाम - २ मा धिरेन्द्र शर्मा र बझाङ प्रदेशसभा १ का लागि जनक बुढाको नाम सिफारिस गरेको छ ।