काठमाडौं : नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्नुपर्ने माग गरेको छ।
सोमबार प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै नेपाली कांग्रेसका सांसदहरू उठेपछि सभामुख देवराज घिमिरेले कांग्रेसकी सांसद् प्रतिमा गौतमलाई बोल्न समय दिए।
सत्यतथ्य अनुसन्धान र छानबिनको माग गर्दै उनले सत्ता साझेदार दलको सभापतिलाई जोगाउन सरकार लागेको आरोप लगाइन्।
‘प्रधानमन्त्रीज्यू यही संसद्मा आएर गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको कानुनी हिसाबले मुद्दा गर्न अयोग्य भएको फैसला गर्नुहुन्छ, मानौँ वारिङ मेसिनमा राखेर सफाचट्ट पारेर निकालेकोजस्तो गरेर यहाँ बोल्नुहुन्छ,’ उनले भनिन्, ‘आरोपित गृहमन्त्री आफू विरूद्ध परेको उजुरीलाई चिर्कटोको संज्ञा दिनुहुन्छ। दुःख लाग्छ, उजुरी त कागजमै लेख्ने होला नि, कि ताम्रपत्र, स्वर्णपत्रमा लेख्ने चलन भए त्यो पनि हामीलाई भने हुन्थ्यो नि।’
संसद, सडक र सामाजिकमा सहकारी ठगीको विषय चर्चामा रहेको भन्दै यसविरुद्ध प्रश्न उठाउनुपर्ने उनले बताइन् ।
सहकारी पीडितको विषयमा अनुसन्धान प्रक्रिया पूर्णरुपले प्रभावित भएकाले कांग्रेसले संसदीय छानबिन समितिको माग गरिएको सांसद गौतमले बताइन् ।
सरकार र सत्ता साझेदार दलका नेताहरू आफैँ न्यायाधीश र आफैँ अदालत बनेको भन्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले संसद्को रोष्टममा उभिएर आफू अनुकुल फैसला सुनाएको बताए।
संसदीय छानबिन समिति वातावरण निर्माणको लागि सरकारसँग आग्रह गर्र्दै उनले गृहमन्त्रीले पनि छानिबन हुन्जेलसम्म पद छाड्न सुझाव दिइन्।