काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीका विषयमा आफ्नो कुनै संलग्नता नभएको प्रस्टीकरण दिएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बुधबारको बैठकमा लामिछानेले सहकारीमा आफ्नो नाम जोडिएको तर त्यसलाई पुष्टि गर्ने कुनै तथ्य नरहेको बताए ।
नेपाली कांग्रेसका सांसद दिलेन्द्र बडुले सहकारी प्रकरणमा मुछिएका गृहमन्त्रीले राजीनामा दिनुपर्ने समितिमा आवाज उठाएपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति समेत रहेका उपप्रधान तथा गृहमन्त्री लामिछानले सहकारी ठगीमा आफ्नो नाम मात्रै भएको तर्क गरेका हुन्।
अदालतमा मुद्दा गएको छ । मुद्दामा म प्रतिवादी छैन, भएका प्रतिवादीको बयानमा रवि लामिछाने भन्ने नाम उल्लेख छैन। उनले भने, ‘सहकारीका विषय आएका छन् । एउटा सहकारीमा मेरै नाम भएको भन्ने आयो । जहाँ मेरो नाम छ, त्यहाँ नामबाहेक केही छैन । हस्ताक्षर, ल्याप्चे, केवाईसी केही छैन । न कुनै पत्र पाएको छु, न कुनै मुद्दा आएको छ ।’
बैठकमा उपस्थित भएका नेपाल प्रहरीका महानिरीक्षक (आइजिपी) वसन्तबहादुर कुँवरले सहकारी ठगी प्रकरणको मुख्य समस्या जिबी राई रहेको बताएका छन्।
‘सहकारी ठगीको मुख्य समस्या जिबी राई हुन्। उनी मलेसिया रहेको जानकारी पाएका छौँं। सुपुर्दगी सन्धि नभएकाले सहयोग गर्न मलेसिया सरकार बाध्य छैन। हामी रेड कर्नर नोटिस, इन्टरपोललाई आग्रह गरेका छौं। उसले सहयोग गरेको छैन। रवि लामिछानेको विषयमा ठाडो उजुरी मात्रै परेको हो, थप प्रमाणपत्र आएको छैन,’उनले भने।
लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कानुनले दिएको भन्दा बढी अधिकार प्रयोग गरेको बताए । प्रसाईंका सुरक्षा गार्ड हतियारसहित पक्राउ परेको विषयमा सांसदले राखेको प्रश्नको जवाफमा गृहमन्त्री लामिछानेले मन्त्रालयले यसबारे अध्ययन सुरु गरिरहेको जानकारी दिए ।
हतियार राख्ने विषयमा धेरै कुरा आयो । अहिले प्रारम्भिक रूपमा कानुनले दिएको भन्दा बढी अधिकार प्रयोग भएको पाइएको छ । हतियारको मालिक एउटा चलाउने अर्को व्यक्ति भएको पाइएको छ । हतियार चलाउने अख्तियार प्राप्त नभएको व्यक्तिको हातबाट पक्राउ परेको छ, उनले भने । उनले यसबारे अदालतको आदेश आइसकेको भन्दै आवश्यक काम मन्त्रालयले सुरु गरिसकेको बताए ।