काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपालमा सहुलियत दरमा ऋण उपलब्ध गराउने नीतिगत व्यवस्था गर्न एसियाली पूर्वाधार लगानी बैंक (एआईआईबी) लाई आग्रह गरेका छन् ।
नेपाल भ्रमणमा रहेका एआईआईबीका निर्देशक नेतृत्वको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले यस्तो आग्रह गरेका हुन् ।
सोमबार एआईआईबी टोलीसँगको भेटमा प्रधानमन्त्री प्रचण्डले एआईआईबीमा सहुलियतको प्रावधान नहुँदा बजार दरको ब्याजमा ऋण प्राप्त गर्न नेपालजस्ता मुलुकलाई कठिन हुने बताए ।
सरकार उच्च आर्थिक वृद्धिमार्फत सुशासन र संस्थागत विकास, सामाजिक न्याय तथा समृद्धि केन्द्रित भएको प्रधानमन्त्री प्रचण्डले बताए ।
उनले यस प्रक्रियामा वित्तीय व्यवस्थापन, प्राविधिक सहायता, ज्ञानको साझेदारी र पूँजी परिचालनमा बैंकको सहयोगको अपेक्षा गरेको बताए ।
नेपालमा हाल एआईआईबीको लगानीमा ऊर्जा क्षेत्रका केही परियोजनामा रहेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले जलविद्युत्, पर्यटन, सूचना प्रविधि र पूर्वाधार विकासमा लगानीको प्रचुर सम्भावना रहेकाले लगानी गर्न आग्रह गरे ।
भेटमा एआईआईबीका निर्देशक आरएमपी रथनायकेले नेपाललाई प्राथमिकता राखेको र यहाँको विकासमा लगानी गर्न बैंक सकारात्मक रहेको बताए ।