काठमाडौँ: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले संसद् बन्द गरेर सभामुख विदेश भ्रमणमा जानु नाजायज कार्य भएको आरोप लगाएका छन् ।
शुक्रबार बिहान सप्तरीको राजविराजमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष लिङ्देनले संसद्को कार्यसूचीसमेत थन्काएर सभामुख विदेश भ्रमणमा जानु गलत काम भएको बताएका हुन् ।
आफूहरूले देश चलाउने मौका पाए भ्रष्टाचारीमाथि डोजर चलाउनेसमेत उनले दाबी गरे । ‘देश चलाउने मौका हामीले पाए भ्रष्टाचारीमाथि डोजर चलाउँथ्यौँ,’ उनले भने,‘जनतामा राजनीति र नेतृत्वप्रति वितृष्णा छ ।’ सार्वजनिक पद धारण गरेका ब्यक्तीलाई अभियोग लागेपछि त्यसको सफाइ दिनुपर्ने भन्दै अध्यक्ष लिङ्देनले गृहमन्त्री रवि लामिक्षानेप्रति लक्षित गर्दे भने,‘म भएको भए पद छोडिसिक्थेँ ।’
वर्तमान सता गठबन्धनलाई उनले ‘स्वार्थ समूहको गठजोड’को संज्ञा दिए । ‘सरकारका गठबन्धनका लागि निर्माण भएको गठबन्धन स्वार्थ समूहको गठजोड हो,’ उनले भने,‘स्वार्थको रक्षा कवचका रूपमा सत्ता गठबन्धन निर्माण भएको हो ।’
प्रतिनिधिसभाको अर्को बैठक चैत १८ गते बस्नेछ। सभामुखको भ्रमणकै कारण बैठक लामो समय सारिएको हो। बजेट निर्माण र विधेयकहरूमाथि छलफल जारी रहेका बेला बैठक नबस्ने ‘बिजिनेस’ प्रभावित हुने सांसदहरूको गुनासो छ। यता सभामुख निकट स्रोतले भने महत्त्वपूर्ण कार्यक्रम भएकाले भ्रमणमा जानु परेको जानकारी दिएको छ।
अन्तर व्यवस्थापिका संसद् (आइपीयू)को सम्मेलनमा भाग लिन उनीहरु ८ दिनका लागि जेनेभा गएको संसद् सचिवालयका सह–प्रवक्ता दशरथ धमलाले जानकारी दिए। टोली चैत १६ गते नेपाल फर्किने तालिका रहेको छ।
सभामुख देवराज घिमिरेसहित शीर्ष राजनीतिक दलका प्रमुख सचेतकहरू संसद्का महासचिव पद्मप्रसाद पाण्डेय, कांग्रेस प्रमुख सचेतक रमेश लेखक, एमाले प्रमुख सचेतक महेश बर्तौला, माओवादी प्रमुख सचेतक हितराज पाण्डे, रास्वपा प्रमुख सचेतक सन्तोष परियार, राष्ट्रिय सभा सदस्य गंगा बेल्वासे, संसद् सचिवालयका प्रवक्ता एकराम गिरी, अन्तर्राष्ट्रिय सम्बन्ध शाखाका उपसचिव र सभामुखको स्वकीय सचिव तेजप्रकाश भट्टराई छन् ।