काठमाडौँ- नेपाली राष्ट्रिय फूटबल टोलीले फिफा विश्वकप २०२६ र एएफसी एसियन कप २०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ।
विश्वकप छनोट खेल्न नेपाली टोली मलेसियाबाट बहराइन पुगिसकेको छ । खेल नेपाली समयअनुसार, राति १२ः४५ बजे सुरु हुनेछ ।
नेपालको घरेलु मैदानमा हुनुपर्ने खेल नेपालको खराब मैदानको कारण बहराइनकै मैदानमा खेल्न लागेको हो।
यसअघि नेपालले विश्वकप छनोटको तयारीका क्रममा मलेसियासँग अभ्यास खेल खेलेको थियो । उक्त खेलमा नेपाली टोली १–५ गोलले पराजित भएको थियो । दोस्रो चरणको विश्वकप छनोटमा नेपाल र बहराइनबिच दुई खेल खेलिने छ ।
विश्व फुटबल महासङ्घ (फिफा) को पछिल्लो वरीयतामा नेपालभन्दा बहराइन निकै नै अगाडि छ । पछिल्लो वरीयतामा बहराइन ८२औँ स्थानमा आसीन छ । नेपाल भने पछिल्लो फिफा वरीयताको एक सय ७५औँ स्थानमा छ ।
नेपालले यो टोलीमा ६ जना खेलाडीलाई पहिलो पटक समेटेको छ। यसअघि टिममा रहेका ३ जना खेलाडी समेत डेब्यु गर्न बाँकी रहँदा कुल ९ खेलाडी ‘डेब्यु’ को प्रतीक्षामा छन्।
प्रशिक्षकका अनुसार १६ खेलाडी २३ वर्षमुनीका रहेका छन्। अधिकांश अनुभवी खेलाडीहरू विदेश पलायन हुँदा नयाँ हरेक पटक नयाँ टिम बनाउनुपर्ने जोखिम नेपाललाई रहँदै आएको छ।
नेपाल र बहराइनबिचको खेल विश्वकप छनोटसँगै एएफसी एसियन कपको छनोट खेल पनि हो । उक्त खेलका लागि घोषित नेपाली टोलीमा गोलरक्षकका रूपमा किरण चेम्जोङ, विशाल सुनार र अभिषेक बराल रहेका छन् ।
यसैगरी रक्षापङ्क्तिमा अभिषेक लिम्बु, अजय चौधरी, अनन्त तामाङ, छिरिङ लामा, सनिस श्रेष्ठ, सौभाग्य राई र सुमित श्रेष्ठ रहेका छन् । मध्यपँक्तिमा भरत खवास, विशाल बस्नेत, लकेन लिम्बु, मणिकुमार लामा, मनिष डाँगी, रोहन कार्की र उत्सव राई रहेका छन् । अग्र पङ्क्तिमा अञ्जन विष्ट, दिनेश हेम्जन, जिलेस्पीजंग कार्की, हिसुब थपलिया, समिर तामाङ र सञ्जीव विष्ट छन् ।