काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सुर्यदशर्न सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेको संलग्नता छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने मागलाई यथावत राखेको छ ।आउँदो सदनको बैठकबाट छानविन समिति गठनको घोषणा गर्नुपर्ने कांग्रेसको माग छ ।
प्रतिनिधि सभाको बुधबारको बैठकको सुरुमा बोल्दै कांग्रेस सांसद ईश्वरीदेवी न्यौपानेले रवि लामिछानेले सहकारीको रकम हिनामिना गरेको प्रमाण छैन भन्ने प्रधानमन्त्री र प्रमाण छ भन्ने हामी प्रतिपक्ष भएकाले यसको छिनोफानो गर्न समिति गठन गर्नुपर्ने बताइन् ।
उनले आगामी संसद बैठकमा सरकारले समिति बनाउन नमाने कांग्रेसले संसद अवरोध गरेको नभइ सरकारले नै गरेको हुने बताइन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले गृहमन्त्रीलाई जोगाउन खोजेको भन्दै प्रधानमन्त्रीले बेइमानी र घात गरेको बताएकी हुन् ।
उनले भनिन्, ‘कसरी चल्छ सत्ता? गृहमन्त्रीले बाहिर बोल्नुभएको छ। प्रतिपक्षले संसद् बन्द गरेपछि सरकार चल्छ? त्यो कदापि हुन सक्दैन। सरकारको उपप्रधान तथा गृहमन्त्रीको गैर जिम्मेवार पूर्ण भनाइ राख्नुभयो। त्यो पनि जनता र देशसँग सम्बन्धित बजेटको छलफलको बेलामा। सदन उहाँलाई चाहिएको छैन होला हामीलाई चाहिएको छ। बजेटको छलफलको विषयमा हामी तयार छौँ। अवरोध गर्दैनौँ। छानबिन समिति गठन गर्न किन डराउनुपर्यो ? हिजो यदि हाउसमा समिति गठन गरेको होइन। उहाँको विषयमा समिति गठन गर्न माग गर्दा नहुने ? के उहाँ स्वर्गबाट आएको हो? हामी सबै यदि जन्मेका हौँ। झन् शंका उब्जेको छ।’
उनले गृहमन्त्री रवि लामिछाने पटक-पटक गृहमन्त्री बन्न चाहेको भन्दै मन्त्री लामिछानेमाथि कानुनी र नैतिक प्रश्न रहेको बताइन् । उनले प्रतिपक्षलाई संसद अवरोध गर्न चुनौति दिएको भन्दै प्रतिपक्षले संसद अवरोध गरेमा सरकार नचल्ने बताएकी हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार प्रतिनिधि सभाको बैठकमा बोल्दै लामिछानेमाथि अनुसन्धान गर्न आवश्यक नभएको जिकिर गरेका थिए। त्यसमा आपत्ति जनाउँदै सदस्य नभएको व्यक्तिले पैसा लिन नपाउने कानूनी व्यवस्था भएकाले लामिछानेले कसरी पैसा लिए भनेर प्रश्न गरिन्।
कांग्रेसले अर्को बैठकसम्म छानबिन समिति गठन गर्न माग गरेको छ। छानबिन समिति गठन नभए संसद् अवरुद्ध पार्ने चेतावनी दिएको छ।
तत्कालीन अध्यक्ष जीबी राई, सचिव दिपेश पुनसँगै लामिछानेले पनि रकम हिनामिना गरेको आरोप छ।
यसमा दिपेश पक्राउ परेका छन्।
यसै विषयलाई उठाउँदै सांसद न्यौपानेले प्रश्न गरिन्, “उही मुद्दामा दिपेश पुन पक्राउ पर्ने, गृहमन्त्री पक्राउ नपर्ने? उहाँले गृहमन्त्रीको पद खाइराख्नुपर्ने?”
लामिछानेले भने आफूले रकम नलिएको र अनियमिततामा संलग्न नभएको जिकीर गर्दै आएका छन् । उनले आफूमाथि परेको सामान्य उजुरीमा संसदीय छानबिन र राजीनामा मागेर कांग्रेसले गलत अभ्यास सिकाउन खोजेको टिप्पणी गर्दै आएका छन् ।