काठमाडौं : नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि उठेका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड"ले गलत जवाफ दिएको जिकिर गरेको छ।
लामिछाने सहकारी ठगीमा संलग्न नरहेको भन्दै प्रधानमन्त्री दाहालले संसदमा दिएको जवाफको प्रतिवाद कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गरेका हुन्।
प्रमुख सचेतक लेखकले प्रशस्त प्रमाण हुँदाहुँदै प्रधानमन्त्री प्रचण्ड नै गृहमन्त्री लामिछानेको बचाउमा लागेको आरोप लगाए।
'लामिछाने सहकारीको कुनै पनि सदस्यमा रहनु भएको छैन भन्नु भएको छ। सहकारीको रकम हिनामिना भएको छैन भन्नु भएको छ। कांग्रेसले यो विषयलाई राजनीतिकरण गर्यो भनेर भन्नु भएको छ। यो विषयमा हाम्रो चित्त बुझेको छैन,उनले भने,"पीडितले भनेका कुरा प्रमाण होइन, प्रहरीमा पीडितबाट आएको उजुरी प्रमाण होइन,के प्रमाण हुँदा अनुसन्धान हुन्छ प्रधानमन्त्रीज्यू।"
लेखकले प्रधानमन्त्री दाहालले नै लामिछानेबारे गलत सूचना राखेको बताए।
‘रवि लामिछानेले पैसा फिर्ता गरेको कागज प्रमाण होइनर? यो प्रमाण होइन भने प्रमाण के हो? प्रचलित कानुन बमोजिम प्रमाण भने तत्काल प्राप्त प्रमाणबाट छानबिन गर्नुपर्दैन? प्रधानमन्त्री नै अध्यारोपमा रहेपछि निष्पक्ष अनुसन्धान कसरी हुन्छ? लेखकले प्रश्न गरे।
आफूहरु संसद अवरुद्ध गरेर कामकारवाहीलाई अवरोध गर्ने पक्षमा नरहेको भन्दै कांग्रेसले उठाएका विषयमा सरकार गम्भीर नहुँदा आगामी दिनमा सदन अवरुद्ध भए सरकारले संसद अवरुद्ध गरेको मानिने तर्क गरे।
उनले कुनै पनि मन्त्रीमाथि अनुसन्धान गर्नुपर्ने परिस्थित आए त्यस्तो मन्त्रीले राजीनामा दिनुपर्ने उल्लेख गरे।