काठमाडौं- संघीय संसदअन्तर्गत मंगलबार प्रतिनिधिसभाको बैठक बस्दैछ। बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा बस्नेछ।
आजको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संसदमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ। आज प्रधानमन्त्री पुष्पकमल दाहाललाई १३ सांसदले प्रश्न सोध्ने छन्।
सांसदसँगको प्रत्यक्ष प्रश्न(उत्तर संवादअन्तर्गत आजको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा एमाले सांसद गोकर्ण विष्ट, किरणकुमार साह र कालुराम राईले सुशासन, ओरालो लागेको अर्थतन्त्र र विदेशमा अलपत्र नेपालीको उद्धार योजनालगायत विषयलाई उठाउने भएका छन्।
प्रधानमन्त्रीसँगको प्रत्यक्ष संवादमा यसपटक १५ जनाको समूह रहे पनि एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओली र एकीकृत समाजवादीका सांसद कृष्णकुमार श्रेष्ठले प्रश्न टिपाएका छैनन्।
यस्तै नेपाली कांग्रेसका गगन थापा, कान्तिका सेजुवाल, किशोरसिंह राठोरले प्रश्न सोध्नेछन्। कल्पना चौधरी, कल्पना मियाँ कुसारी, कुसुमदेवी थापा, खमबहादुर गर्बुजा, गणेश पराजुलीले पनि संवादमा सहभागी हुन आफ्ना प्रश्न खामबन्दी गरेर संसद् सचिवालयलाई बुझाएका छन्।
साथै उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने सहकारी हिनामिना प्रकरणमा मुछिएको भन्दै मन्त्री पदबाट हटाउनुपर्ने माग प्रधानमन्त्रीसँग प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरेको छ। सो विषयमा पनि प्रधानमन्त्रीले जवाफ दिनेछन्।
गत शुक्रबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि प्रश्न उठाउँदै उनलाई रोस्ट्रममा जान लाग्दा अवरोध गरेको थियो।