काठमाडौं-प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले अवैध सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेकोमा सरकारलाई धन्यवाद दिएका छन।
सोमबार बसेको प्रतिनिधिसभाको बैठकमार्फत् थापाले सरकारलाई धन्यवाद दिएका हुन्। संसद सुरु भएसँगै उनले सभामुख देवराज घिमिरेबाट समय लिएर बोलेका थिए।
उनले प्रतिनिधिसभाको बैठकमा एमालेले आयोग बनाउन उठाएको प्रश्न सही सावित भएको बताए। प्रतिपक्षले सशक्त कुरा उठाएकै कारण सुन तस्करी छानबिनका लागि आयोग बनेको भन्दै एमालेलाई धन्यवाद समेतदिएका छन ।
‘केही समय अगाडि प्रतिपक्षी ठाउँबाट एमालेले सदनमा सशक्त ढंगले कुरा उठायो– शक्तिशालीलाई लुकाउन खोजिँदैछ । शक्तिशालीलाई लुकाउन प्रपञ्च गरिएको तत्कालीन प्रतिपक्षको आशंका अहिले सही सावित भयो । हामीले भर्खर समाचार सुन्यौं कृष्णबहादुर महरा पक्राउ परे, सरकारलाई धन्यवाद छ’, गगनले भने ‘हामीलाई एउटा कुरा लुकाइएको रहेछ । त्यो बेलामा प्रतिपक्षले जोडदार नउठाएको भए सुनकाण्ड फासफुस हुनेरहेछ ।’
त्यस्तै सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेलाई गृहमन्त्री बनाएको भन्दै कांग्रेसले प्रतिनिधिसभा बैठकमा प्रश्न उठाएको छ। महामन्त्री थापाले अनुसन्धानको दायरामा रहेका गृहमन्त्रीको नियुक्तिका विषयमा प्रधानमन्त्रीको जवाफ मागेका हुन्।
"जो मुछिएको छ ऊ आफैले अनुसन्धान गर्छ भनेर हामीले कसरी विश्वास गर्ने। यसैले प्रधानमन्त्रीबाट जवाफ चाहिएको हो। हामीले त्यस्तो ओठे जवाफ होइन । प्रधानमन्त्री बनाइदिने भन्ने जवाफ होइन। हामीले जिम्मेवारी बोधका साथ जिम्मेवारी चाहियो।
थापाले आफै अनुसन्धानको दायरमा रहेका गृहमन्त्रीले कसरी निष्पक्ष छानविन गर्छन् भन्दै प्रश्न समेत गरे। "सहकारीमा जसले ठगी गरेको छ फियर ढंगले अनुसन्धान होस्। एउटा प्रमाण पनि नष्ट नहोस्। प्रमाण प्रहरीसँग छ। पीडितले प्रहरीमा प्रमाण दिएका छन्,"उनले भने।