काठमाडौँ । पूर्वसभामुख एवम् नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् ।
सोमबार बिहान भैरहवा हुँदै दाङ जाने क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सिआइबी)ले उनलाई कपिलवस्तुको मायादेवी गाउँपालिकाकाे पकडी चाेकबाट पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।
अवैध सुन प्रकरण जाँचबुझ आयोगको रिपोर्टमा गरिएको सिफारिस बमोजिम पक्राउ परेका महरालाई यति एअरलाइन्सको जहाजबाट काठमाडौँ ल्याउने तयारी भएको छ ।
पूर्वसभामुख महरासँग आयोगले यसअघि बयानसमेत लिएको थियो। साथै, महराका छोरा राहुल विद्युतीय चुरोट (भेप) मार्फत् भएको सुन तस्करी प्रकरणमा पुर्पक्षका लागि थुनामा छन् ।
यस प्रकरणबारे सिआइबीले गरेको अनुसन्धानमा त्रुटि रहेको छानविन समितिले निष्कर्ष निकालेको थियो । समितिले बुझाएको प्रतिवेदनका आधारमा गृहमन्त्री रवि लामिछानेले महरालाई तत्काल कारवाही गर्न निर्देशन दिएका थिए ।
पूर्वन्यायाधीश डिल्लीराज आचार्य संयोजकत्वको समितिले महरालाई सुन तस्करीमा संलग्न रहेको भए पनि सिआइबीको छानबिनले उन्मुक्ति दिएको ठहर गरेको हो ।
गत बिहीबार प्रतिवेदन बुझेका गृहमन्त्री रवि लामिछानेले शुक्रबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई हस्तान्तरण गरेका छन् । गत असोज १५ गते गठित आचार्य नेतृत्वको सुन तस्करी सम्बन्धी जाँचबुझ, २०८० गठन गरेको थियो । आचार्यको अध्यक्षतामा गठित आयोगमा सहकुलबहादुर थापा, किशोरजङ्ग कार्की र प्रेमराज जोशी सदस्य रहेका थिए ।
छानबिन समितिले सिआइबी प्रमुख किरण बज्राचार्यमाथि मुद्दा चलाउन सिफारिस गरेको स्रोतले जानकारी दियो । छानबिन समितिले सुन तस्करी प्रकरणमा सिआइवीले त्रुटी गरेको निष्कर्ष निकालेको छ । मुद्दा चलाउनु पर्नेलाई नचलाएको छानबिन प्रतिवेदनमा उल्लेख भएको गृह मन्त्रालय स्रोतले जानकारी दिएको थियो ।
त्यस्तै, समितिले छानबिनमा संलग्न रहेका एसपी सञ्जयसिंह थापा, डीएसपी दुर्गा दाहाल र रुगम कुँवरलाई पनि विभागीय कारवाहीको सिफारिस गरेको थियो ।