काठमाडौं,४ चैत । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सुन तस्करी प्रकरणमा जोडिएका सबैलाई कारबाही गर्न निर्देशन दिएका छन् ।
आज गृह मन्त्रालयमा गृहमन्त्री लामिछाने, गृह सचिव एकनारायण अर्याल र सिआइबीका नवनियुक्त प्रमुख श्यामलाल ज्ञवालीसहित बसेको बैठकमा गृहमन्त्री लामिछानेले यो प्रकरणमा जोडिएका सबैलाई कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् ।
गृहमन्त्री लामिछानेको यो निर्देशनसँग अब नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बाँसबारी छालाजुत्ता कारखानाको जग्गा हिनामिना प्रकरणमा उद्योगपति एवम् सांसद विनोद चौधरीको पनि बयान लिने भएको छ ।
यसअघि सिआइबीले जग्गा हिनामिना प्रकरणमा अरुण चौधरी, बाँसबारी छालाजुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजितनारायण थापा र च्याम्पियन फुटवेयर प्रालि ,सिजी चाँदवाग रेसिडेन्सी प्रालिका सञ्चालक ४५ वर्षीय सञ्जय ठाकुर पक्राउ गरेको थियो।
सरकारी कागजातअनुसार अरुण चौधरी र उनकी पत्नी शिला चौधरीको नाममा रहेको उक्त १० रोपनी जग्गामा हाल चााँदबाग स्कुल सञ्चालन भइरहेको छ।
गृहमन्त्री लामिछानेले सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन तत्काल कार्यान्वयन गर्न पनि निर्देशन दिएका छन्।
विभिन्न समयमा नेपाल भित्रिएको १३८ किलो सुनको अवैध तस्करीबारे छानबिन गर्न पूर्व न्यायाधीश डिल्लीराज आचार्य नेतृत्वमा सरकारले छानबिन आयोग बनाएको थियो । बिहीबार सरकारलाई प्रतिवेदन बुझाएको आयोगले पूर्व सभामुख तथा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरासहितलाई मुद्दा चलाउन सिफारिस गरेको थियो ।
लामिछानेले बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा सरकार मातहत ल्याउने प्रक्रिया पनि आजै सुरू गर्न र अनुसन्धानको दायरामा रहेका सबैलाई बयान लिन पनि निर्देशन दिएका छन् ।