काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसले निरन्तर धोका दिएकोले सत्ता समिकरण फेर्नु परेको बताएका छन् । पोखरामा आज बिहान आयोजित पार्टी कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले कांग्रेस इमान्दार नभएकाले गठबन्धन फेर्नु परेको बताएका हुन् ।
प्रधानमन्त्रीले भने, “कांग्रेसबाट पटकपटक धोका भयो। कांग्रेसबाट हामीलाई भोट ट्रान्सफर हुने पनि देखिएन। सबैजसो निर्वाचनमा धोका भयो। भोलि पनि यस्तै हुने देखियो। एकातिर सरकारमा गति नआउने, अर्कोतर्फ गठबन्धनप्रति इमान्दार नहुने परिस्थितिले नयाँ गठबन्धनमा गएका हौं।”
उनले सरकारको गतिमा परिवर्तन ल्याउन र वामपन्थी शक्तिबीच सहकार्यका निम्ति नयाँ समीकरण बनाइएको स्पष्ट पारेका छन् ।
राष्ट्रिय राजनीतिमा प्रतिगामी धार बलियो बन्दै गएकाले पनि प्रतिकारका लागि नयाँ गठबन्धन बनेको प्रचण्डको भनाइ छ । प्रचण्डले बदलिएको सत्ता समिकरणले देशको राजनीति सही बाटोमा आएको तर्क गरे ।
प्रधानमन्त्री प्रचण्डले पार्टीलाई सुदृढ गर्न एक महिने अभियान चलाइनेसमेत जानकारी दिए। उनले भने, “राष्ट्रिय जागरण अभियान सञ्चालन गर्दैछौँ। पूर्वदेखि पश्चिमसम्मको तराई-मधेशलाई समेटेर एउटा अभियान चल्नेछ। हिमाल, पहाड र तराई-मधेशलाई जोडेर उत्तर-दक्षिणका भूगोल जोडेर अभियान चलाइन्छ।”
गण्डकी प्रदेशमा माओवादीले नेतृत्व लिने सम्भावना रहेको उनले बताए। प्रधानमन्त्रीले भने “गण्डकी प्रदेश सरकारका बारेमा पनि हामी छलफल गर्दैछौँ। प्रदेशमा सरकार गठनका लागि गृहकार्यमै छौँ। त्यो टुंगाएपछि एउटा निष्कर्षमा पुग्नेछौँ।”
केन्द्रमा नयाँ गठबन्धन बन्नुमा संविधानको रक्षा र सुदृढीकरण र वामपन्थी आन्दोलनको रक्षा नै मुख्य विषय भएको प्रधानमन्त्रीले बताए।