काठमाडौं– हङकङमा जारी त्रिकोणात्मक टी-२० सीरीजको उपाधि पपूवा न्यूगिनीले जितेको छ । नेपाललाई ८६ रनले पराजित गर्दै पिएनजीले जित हात पारेको हो ।
पिएनजीले दिएको १७२ रनको लक्ष्य पछ्याउन मैदानमा प्रवेश गरेको नेपाली टीमले १६.३ ओभरमा ८५ रनमै अलआउट भएपछि ठूलो पराजय व्यहोर्न बाध्य भयो ।
लिग चरणमा उत्कृष्ट प्रदर्शन गर्दै फाइनलमा स्थान बनाएको नेपालको उपाधि चुम्ने लक्ष्यमा पीएनजी बाधक बन्यो।लिग चरणमा नेपालसँग ८५ रनले पराजित भएको पीएनजी फाइनलमा नेपाललाई बदला लिँदै च्याम्पियन बनेको हो।
नेपालका सुरुवाती ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। नेपालका रोहित पौडेल १२ ,आरिफ शेख १५,तथा सन्दीप जोरा १७, बाहेक अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंकले रन बनाउन सकेनन् ।
आजको खेलमा ओपनरहरु सबैभन्दा फ्लप भए । कुशल भूर्तेल ५ रन तथा बिनोद भण्डारी ४ सस्तैमा आउट भए । गुल्सन झा ६ रनमै रनआउट भए भने बिवेक यादवले एक , लोकेश बमले ६ , करण केसीले तीन रन बनाए । प्रतिस जिसी र आकाश खड्काले खाता नै खोल्न सकेनन् ।
यसअघि मङ्गलबार भएको लिग चरणको दोस्रो खेलमा पीएनजीले घरेलु टोली हङकङलाई १० विकेटले हराउँदै फाइनलमा स्थान बनाएको हो।मङ्गलबार नै भएको खेलमा नेपालले पीएनजीलाई ८५ रनले हराएर फाइनलमा स्थान बनाएको थियो।
आयोजक हङकङ भने लिग चरणको अन्तिममा रहेको थियो।नेपालले आगामी जुनमा आयोजना हुने आइसिसी टी–२० विश्वकपको तयारीका लागि हङकङमा त्रिकोणात्मक सिरिज खेलेको हो ।
विश्वकप तयारीकै लागि घरेलु मैदानमा हालै सम्पन्न नेदरल्यान्ड्स र नामिबिया सम्मिलित त्रिकोणात्मक अन्तर्राष्ट्रिय टी–२० सिरिजको फाइनलमा पनि नेपाल नेदरल्यान्ड्ससँग चार विकेटले पराजित भएको थियो।