शुक्रबार, फागुन २५, २०८० काठमाडौं
आजभन्दा ठीक चार वर्ष पहिले महाशिवरात्रीका दिन स्थापना भएको सामाजिक सञ्चार अनलाइनपत्रिका आजदेखि चौँथो वर्षमा प्रवेश गरेको छ । स्थापना कालदेखि नै निरन्तर रुपमा सत्य, तथ्य, भरपर्दो र विश्वसनीय समाचार प्रकाशन गर्दै आएको यस अनलाइनको प्रमुख प्राथमिकता आम पाठक र पाठकको रोजाई अनि आवश्यकता नै हो ।
समाजमा घटित हरेक घटनाहरूलाई स्वतन्त्र एवम् मर्यादित रुपमा सामाजिक चेत र सोही अनुरुपका सूचना प्रदान गर्दै अनवरत यात्रा तय गरेको यस सामाजिक सञ्चार तेस्रो वसन्त पार गरी चौँथो वसन्तमा प्रवेश गरेको खबर यहाँहरूमाझ ल्याउन पाउनु हाम्रो लागि निकै हर्ष र गौरवको विषय बनेको छ । किनकी हामी भूँइका कथा लेख्दै यहीँ तपाईँहरूसँगै सहयात्रा गर्दै यहाँसम्म आउन पाएका हौँ । र हामीलाई आशा पनि छ कि हामीले प्रकाशन एवम् प्रशारण गरेका हरेक विषय तपाईँको दैनिकी र कार्यसम्पादनका लागि उपयोगी बनेका छन् ।
यो चार वर्षे यात्रामा हामीले भुल्नै नहुने धेरैँ मनहरू हुनुहुन्छ । तपाईँ पाठकसँगै सूचनादाता तथा विज्ञापनदाताप्रति सामाजिक सञ्चार परिवार कृतज्ञ छ । यस सुखद् घडीमा हाम्रो परिवारको तर्फबाट तपाईँ सम्पूर्णमा हार्दिक आभारका साथै आगामी दिनमा अझ परिस्कृत कार्य एवम् सहकार्यको प्रतिवद्धता पनि छ ।
व्यावसायिक पत्रकारिताको मूल मर्मलाई आत्मसात गर्दै आफ्नो यात्रा तय गरेका हामीले अन्य समाचारसँगै अल्पसंख्यक, सिमान्तकृत, महिला र पिछडिएका वर्गका गाथालाई समेत प्रमुख प्राथमिकताका साथ हाम्रा लेख-रचनामा समेट्ने प्रयत्न गरेका छौँ । यस शुभकार्यमा रात-दिन नभनी खट्ने हाम्रा सहकर्मी मित्र पनि ध्यावादको मूल्य पात्र हुनुहुन्छ । आशा छ यही खालको सकारात्मक ऊर्जाले निरन्तरता पाउनेछ र यो चार वर्षे यात्रा जसरी सुखद् र सफल अनगिन्ती यात्रा हामीले गरिरहनेछौँ निरन्तर... ।
पत्रकारलाई राज्यको चौँथो अंग भनिन्छ । हामीले हाम्रो पत्रिकामार्फत् पनि राज्यका विभिन्न गतिविधी समेट्न क्रियाशील छौँ । सत्तापक्षका सकारात्मक कुरा जनतामाझ ल्याउँदै नकारात्मकतालाई खबरदारी गर्न पनि हामी उत्तिकै क्रियाशील छौँ । आजसम्म जसरी तपाईँहरूको माया, साथ, हौसला र खबरदारी रहेसम्म यो यात्रा निरन्तर रहनेछ ।
विश्वव्यापी रुपमा रहको आर्थिक मन्दिका कारण अर्थतन्त्र चलायमान नभएको यो परिस्थितीबाट नेपाली पत्रकारिता क्षेत्र अझ बढी प्रभावित भएको हामीले भोगेका छौँ । आर्थिक असहजताका कारण कतिपय एकदमै चलेका सञ्चारमाध्यमहरू समेत बन्द भएका छन् भने कतिपय बन्दको क्रममा समेत रहेका छन् । पत्रकारितामा आफ्नो भविश्य बनाउन लागि परेका पत्रकारहरूको आर्थिक अवस्था पनि उस्तै छ । समाजिक नजरीयामा राम्रो हैसियत भएका पत्रकारको पनि आर्थिक पाटो भने निकै दयनीय रहन पुगेको यथार्थ छ । सञ्चारमाध्ययमहरू बाच्नको लागि बढो संर्घष रहेको यस अवस्थामा व्यापारिक संस्थाहरूले पनि विज्ञापनमा कटौती गरेका छन् । यस क्षेत्रको विकास र निरन्तरताको लागि सरकारको पनि खासै सहयोग गरेको अवस्था छैन । यस विषम परिस्थतिमा व्यवसायिक पत्रकारितालाई सबल र सक्षम बनाउनको लागि सरकारले विशेष खालको योजना गर्नुपर्ने देखिन्छ । यति असजताका बाबजुँद पनि हामी निरन्तर यस क्षेत्रमा क्रियाशील छौँ । तपाईँहरूको यस्तै उत्साहजनक माया र हौसला भएसम्म निरन्तर रहने पनि छौँ ।
अनलाइनको माध्ययमबाट सहज पहुँच रहेको वर्तमान पत्रकारिता क्षेत्रका चुनौती पनि बेग्लै छन् । छिटो र छरितोको नाउँमा विश्वसनीयता धर्मराउँदै गएको यस क्षेत्रको संरक्ष एवम् विश्वसनीयता कायमका लागि हामी एकदमै दृढ र प्रतिवद्ध रहेको जानकारी गराउँदछौँ । आगामी दिनमा पनि उत्तरदायी, भरपर्दो र विश्वसनीय समाचार प्रकाशन गरी समाज परिवर्तन र राष्ट्रिय हितका कार्यमा टेवा पुर्याउन पर्यत्नशील रहने प्रतिवद्धता व्यक्त गर्दछौँ ।