२४ फागुन, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सरकार बनाउने र भत्काउने खेलमा नरहेको बारम्बार भनिरहे पनि आफूहरुका विषयमा भ्रम फैलाइएको बताएका छन् ।
बिहीबार प्रतिनिधिसभाको बैठकको विशेष समयमा बोल्दै उनले राप्रपा यो गठबन्धनमा सहभागी हुन इच्छुक भए पनि सहभागी नगराइएको भनी भ्रम फैलाइएको बताएका हुन् ।
आफू वर्तमान सत्ताको चलखेलमा सहभागी नभएको भनेर स्पष्ट भन्दा पनि पार्टीविरुद्ध कुप्रचार भएको उसको आरोप छ ।
“कतिपय साथीहरूले बढो उत्साहका साथ राप्रपालाई नलिने भएका छौँ भन्नुभयो, यसलाई पार्टीले नोटिसमा राखेको छ,” उनले भने, “यो सत्ता केन्द्रित चलेखेलमा सामेल छैन र हुने छैन भनेर हामीले प्रस्ट भनेपछि जुन विषय आयो सहभागी हुन खोजेको तर पाएन भन्ने कुरा भ्रम हो ।”
‘राप्रपाले सहभागी हुन खोजेर पनि सहभागी हुन नपाएको हो भन्ने कुरा भ्रम नरहोस्, फेरि पनि भन्छु यसलाई हामीले नोटिसमा राखेका छौं । तपाईंको गठबन्धनले पर्सि नै राप्रपालाई खोज्नुपर्ने दिन नआओस् ।’
उनले वर्तमान राजनीतिक व्यवस्था नै दोषी भएको जिकिर समेत गरे ।
२०७९ पुस १० गते आफूहरु प्रचण्ड नेतृत्वको गठबन्धन सरकारमा सहभागी भएको तर केही समयमा नै प्रधानमन्त्रीले बाटो फेरेपछि अलग भएको लिङ्देनले बताए ।