सत्ता गठबन्धन दलका नेताहरू गठबन्धनमा सामेल हुने दल र मन्त्रालय बाँडफाँटको टुंगो लगाउन आन्तरिक छलफलमा छन् । पार्टीभित्र क–कसलाई सरकारमा सामेल गराउने भन्ने विषयमा पनि दलहरूभित्र छलफल चलिरहेको छ ।
गठबन्धनमा अहिले नेकपा माओवादी केन्द्र, नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र जनता समाजवादी पार्टी सामेल छन् । प्रदेशको समेत सत्ता समीकरणलाई लिएर चार दलले नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति पार्टीसहित अन्य साना दलहरुलाई समेत गठबन्धनमा सामेल गराउने प्रयास भईरहेको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादी पार्टीलाई पनि सरकारमा सामेल गराएर अघि बढ्न जोड दिएका छन् । गठबन्धन बनेपछि प्रधानमन्त्री दाहालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई मंगलबार साँझ दोस्रोपटक भेट गरे । बुधबार बिहानै उनले एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालसँग पनि भेट गरेका छन् ।
मंगलबार साँझको भेटमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओलीसहित नेताहरूलाई लिएर कोटेश्वरस्थित नेपाल निवास पुगेका थिए ।
प्रधानमन्त्री दाहालको आग्रहमा एकीकृत समाजवादीले बुधबार मध्यान्हसम्मको समय मागेको छ । नागरिक उन्मुक्ति पार्टीले पनि त्यतिञ्जेल समय माग गरेको नेताहरुले जनाएका छन् ।
सरकारमा जाने वा नजाने भन्ने विषयमा छलफल गर्न एकीकृत समाजवादीको सचिवालयको बैठक बस्दैछ । सत्ता गठबन्धनको मन्त्रालय बाँडफाँट कार्यदल पनि छलफलमै छ ।
मंगलबार कार्यदलमा केहीबेर छलफल भएपनि गृह मन्त्रालय कसले लिने भन्नेमा सहमति भएको छैन । ‘सबैको चासो गृह र अर्थमा रहेको छ ।
बुधबारसम्म गठबन्धनमा सामेल हुने दलहरूको टुङ्गो लाग्ने र त्यसपछि मन्त्रालय बाँडफाँटको टुङ्गो लगाउने तयारी रहेको र । ‘को को सरकारमा सहभागी हुने भन्ने टुंगिए लगत्तै मन्त्रालयको बाँडफाँटको टुङ्गो लाग्नेछ माओवादी केन्द्रका एक नेताले बताए। सबैलाई मिलाएर लैजाने विषयमा प्रधानमन्त्रीज्यूले सकारात्मक पहल गरिरहनुभएको छ । उनले भने सरकारमा सहभागी हुने दलको टुङ्गो लागेबित्तिकै मन्त्रिपरिषद् विस्तार हुन्छ ।
काँग्रेससहितको गठबन्धन तोडेर नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री दाहालको क्याबिनेटमा माओवादी, एमाले र रास्वपाबाट एक-एक जनालाई मात्रै मन्त्रीहरू छन् ।