काठमाडौं । राष्ट्रियसभाका नवनिर्वाचित सदस्यहरूले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन्।
सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा नवनिर्वाचित सांसदहरूले सोमबार शपथ लिएका हुन् । राष्ट्रियसभा उपाध्यक्ष उर्मिला अर्यालले उनीहरूलाई शपथ खुवाएकी हुन्।
रिक्त २० जनाको पदमध्ये १९ जना गत माघ ११ गतेको निर्वाचनबाट निर्वाचित भएका हुन्। एकजना भने मन्त्रपरिषदको सिफारिसमा राष्ट्रपतिबाट नियुक्त हुन बाँकी छन्।
आइतबार मात्रै राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित ६ वर्षे कार्यकाल सकिएका १९ सांसदलाई बिदाइ गरिएको थियो। १९ सदस्यका लागि भएको निर्वाचनपछि राष्ट्रिय सभामा माओवादी पहिलो,कांग्रेस दोस्रो र एमाले तेस्रो दल बनेका छन्।
कांग्रेसबाट कृष्णप्रसाद सिटौला,आनन्दप्रसाद ढुङ्गाना, विष्णुकुमारी पुडासैनी, जितजंग बस्नेत,पदमबहादुर परियार, किरणबाबु श्रेष्ठ, विष्णुकुमारी सापकोटा, कृष्णबहादुर रोकाया, बलदेव बोहरा र नारायणदत्त भट्ट गरी १० जना सांसद राष्ट्रिय सभा सदस्यमा निर्वाचित भएका छन्।
त्यसैगरी माओवादी केन्द्रबाट श्रीकृष्ण अधिकारी, मनरुपा शर्मा, झक्कु सुवेदी, विष्णुबहादुर विश्वकर्मा र रेणु चन्द, नेकपा एकीकृत समाजवादीबाट घनश्याम रिजाल, सावित्री मल्ल सांसद बनेका हुन्।
नेकपा एमालेबाट रुक्मिनी कोइराला र जनता समाजवादी पार्टीबाट पूजा चौधरी राष्ट्रिसभा सदस्यमा निर्वाचित भएका हुन्।