काठमाडौँ । नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघ सरस्वती बहुमुखी क्याम्पस समितीले आइतबार शालिन पोख्रेलको लागि न्याय माग्दै क्याम्पस परिसरमा विरोध प्रदर्शन गरेको छ ।
चितवनको एकता शिशु निकेतन स्कूलको होस्टेलमा मृत फेला परेकी पोखरेलको लागि न्यायको माग गर्दै नेविसंघका केन्द्रीय सदस्य सरस्वती क्याम्पस समिति सभापति मुस्कानराज गौतमसहित कलेज कमिटीका पदाधिकारीले प्रदर्शन गरेका हुन् ।
'जस्टिस फर शालिन पोख्रेल' लेखेको ब्यानर र पम्प्लेट बोकी नारावाजीसमेत गरेका उनीहरूले उक्त घटनाबारे सत्यतथ्य छानबीन गरेर दोषीलाई कारवाही र शालिनको लागि न्याय दिन सरकार समक्ष माग राखेका हुन् ।
स्सभापति गौतमले विरोध र्यालीमा सहभागी जनाउँदै बलात्कारी बलात्कारीलाई संरक्षण गर्ने दुवै दोषी भएको बताउनु भएको छ ।
यस्तै, घटनाको सत्यतथ्य छानबिन नभएसम्म नेवी संघ इकाइले चरणबद्ध रूपमा अन्तिमसम्म आन्दोलन गर्ने इकाई सचिव तथा स्वबियु सदस्य मन्दीप मल्लले बताउनु भएको छ ।
गोरखा अजिरकोट गाउँपालिका- ५ मुच्चोकका दिपेन्द्र पोखरेलकी १४ वर्षीय छोरी शालिन चितवनको रत्ननगर नगरपालिका- १० स्थित एकता शिशु निकेतन स्कुलद्वारा सञ्चालित होस्टेलमा मृत फेला परेकी थिइन् ।
कक्षा ८ मा अध्ययनरत उनी फागुन १२ गते झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन् ।शालिनका बुवा दीपेन्द्र र आमा सगुनले आफ्नी छोरीको बलात्कारपछि हत्या भएको आरोप लगाएका छन् ।
उक्त घटनामा विद्यालयका प्रधानाध्यापक, सहायक प्रधानाध्यापक र वार्डेनलाई ज्यानसम्बन्धी कसुरमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रत्ननगर वडा १० का ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षीय किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेल छन् ।
शालिनको मृत्युपछि उनका बुबासहित परिवारजनले उनीहरुविरुद्ध किटानी जाहेरी दिएका थिए ।