नेपाली सेनाको आयोजनामा शान्ति स्थापनासम्बन्धी बहुराष्ट्रिय अभ्यास शान्ति प्रयासको चौथो संस्करण मंगलबार सुरु भएको छ । नेपालसमेत १९ देशका ११२५ जना सैनिक यसमा सहभागी छन् । ‘अभ्यास– शान्ति प्रयास ४’ अमेरिकी सरकारको ग्लोबल पिस अप्रेसन इनिसिएटिभको सहयोगमा नेपाली र अमेरिकी सेनाको सहकार्यमा आयोजना भएको हो ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सेनाको खेलमैदानमा उद्घाटन गरेको अभ्यास २१ फागुनसम्म काभ्रेस्थित वीरेन्द्र शान्ति कार्य तालिम केन्द्र, पाँचखालमा सञ्चालन हुनेछ । प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका शान्ति स्थापना प्रयासहरूमा नेपाली सुरक्षाकर्मीले देखाएको समर्पण र प्रतिबद्धताको प्रशंसा गरे ।
संयुक्त राष्ट्रसंघलाई शान्ति सैनिक र प्रहरी उपलब्ध गराउने देशहरूमा नेपाल अहिले शीर्ष स्थानमा रहेको भन्दै आवश्यक परेमा १० हजारसम्म फौज उपलब्ध गराउन नेपाल प्रतिबद्ध रहेको बताए । वर्तमान विश्वमा देखिएका जातीय तनाव र आतंकवादका विभिन्न कारकहरूबाट सञ्चालित जटिल द्वन्द्वका कारण शान्ति स्थापनार्थ सैनिकहरूले खतराको सामना गर्नुपरेको प्रचण्डले बताए ।
वहुस्तरीय प्रकृतिका द्वन्द्वका विषयमा नेपाल पनि सचेत हुनुपर्ने प्रधानमन्त्रीको भनाइ थियो । शान्ति स्थापना कार्यहरू जटिल राजनीतिक–सैन्य–मानवीय प्रयासका रूपमा विकसित भएको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले शान्ति सैनिकले अझ धेरै बुझ्नुपर्ने र तयारी गर्नुपर्ने अवस्था आएको पनि उल्लेख गरे । ‘संयुक्त राष्ट्रसंघको शान्ति स्थापना कार्यको विश्वास र वैधानिकता कायम राख्न नयाँ जटिल चुनौतीहरूका माझ विश्वमा कसरी शान्ति प्रदान गर्ने भनेर हामीले पुनः मूल्यांकन गर्नुपर्ने भएको छ,’ प्रधानमन्त्रीले भने ।
कार्यक्रममा संयुक्त राज्य अमेरिकाकी उपसहायकमन्त्री राचेल स्काइलरले विभिन्न शान्ति मिसनमा शान्ति सैनिकहरू खटाई विश्व शान्ति स्थापनामा पु¥याएको नेपालको योगदानको प्रशंसा गरिन् । अभ्यासमा बंगलादेश, फिजी, घाना, इन्डोनेसिया, मलेसिया, मंगोेलिया, नेपाल, श्रीलंका, थाइल्यान्ड, उरुग्वे, संयुक्त राज्य अमेरिका, अस्ट्रेलिया, क्यानडा, भारत, नाइजेरिया, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया र भियतनामका सैनिकहरू सहभागी छन् ।