नेपाली कांग्रेस दोलखामा महासमिति सदस्य छनोट प्रक्रिया विवादमा परेको छ। नेपाली कांग्रेसको महाधिवेशनमा ५ प्रतिनिधिले महासमिति सदस्य छनोट विधान विपरीत गरिएको भन्दै केन्द्रीय निर्वाचन समितिमा उजुरी हालेपछि छनोट प्रक्रिया विवादमा परेको हो।
उर्मिला कार्की, जयराम श्रेष्ठ, कुमार अधिकारी, गौरवकुमार लामा, प्रभुराम श्रेष्ठले उजुरी दिएका हुन्।पार्टीले निर्वाचनको उम्मेदवारी दर्ता,नामावली प्रकाशन जस्ता सम्पूर्ण निर्वाचन प्रक्रिया पूरा गरेर मतदान प्रक्रिया नाटकीय रूपमा रोकेको उजुरीमा उल्लेख गरिएको छ।
विधानविपरीत केन्द्रमा महासमिति सदस्यको नाम पठाइएको भन्दै मान्यता नदिन उनीहरूले माग गरेका छन्।
गत कात्तिक १९ गते दोलखामा महासमिति सदस्य चयनको प्रक्रिया सुरू गरे पनि रोकिएको थियो। आकांक्षीले उम्मेदवारीसमेत दर्ता गरिसकेका थिए। तर सहमति गर्ने भन्ने रोकिएको थियो।
पुनस् निर्वाचन गर्ने भनेर महासमिति सदस्यका उम्मेदवारबाट ५० हजार रुपैयाँ खातामा जम्मा गराएर पनि स्वेच्छाचारी ढंगले गोप्य रूपमा नाम सिफारिस गरी केन्द्रमा पठाउने काम भएकोले मान्यता नदिन उनीहरूले माग गरेका छन्।
जिल्ला सभापति बर्मा लामाले गत माघ २९ गते ११ जना महासमिति सदस्यको नाम केन्द्रमा पठाएका थिए।
ताराबहादुर कोइराला, ईश्वरनारायण मानन्धर, सन्तोष पाण्डे, बाबुकाजी बस्नेत, जयराम श्रेष्ठ, सृजना सुवेदी, गीता शिवाकोटी, भवेन्द्र कार्की, रोचना उप्रेती, च्याङ्गा शेर्पा र मोती मोक्तानको नाम सभापति लामाले केन्द्रमा पठाएका थिए।
उनले केन्द्रमा नाम पठाउँदा पत्रमा 'विभिन्न मितिमा भएको जिल्ला कार्यसमिति, कार्यसम्पादन, केन्द्रीय सदस्यहरू, पूर्वसभापतिहरूको संयुक्त बैठकले सर्वसम्मत रूपमा छनोट गरी निर्णय भएअनुसार' केन्द्रमा नाम पठाइएको उल्लेख गरेका छन्।
कांग्रेसले यही फागुन ७ देखि १० गतेसम्म महासमिति बैठक गर्दैछ। महासमितिमा करिब दुई हजार तीन सय जनाले भाग लिनेछन्।