नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सैनिकका विशेष क्षमता भएका सन्ततीहरूलाई शिक्षा तथा जीवनोपयोगी सीप सिकाउने उद्देश्यले निर्माण गरिएको वरदान सैनिक विशेष दिवा विद्यालयको आज (फाल्गुण ०२ गते) प्रधान सेनापति महारथी श्री प्रभुराम शर्मा र सैनिक श्रीमती संघकी अध्यक्ष श्रीमती सुनिता शर्माले समुद्घाटन गर्नुभयो ।
सैनिक श्रीमती संघको पहलतामा सैनिक कल्याणकारी कोषको लगानीमा छाउनीमा निर्मित उक्त विद्यालयको मिति २०७९ मङ्सीर १४ गते प्रधान सेनापति तथा सैनिक श्रीमती संघकी अध्यक्षले शिलान्यास गर्नु भएको थियो ।
सैनिक श्रीमती संघको संरक्षकत्वमा संचालन हुने उक्त विद्यालयमा शैक्षिक सत्र २०८१ बाट ३० जना विशेष क्षमता भएका बालबालिकाहरू भर्ना गरी पठनपाठन आरम्भ गरिनेछ ।
आज आयोजित समुद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधान सेनापतिले परोपकारका क्षेत्रमा क्रियाशील सैनिक श्रीमती संघको पहलतामा निर्मित यस विद्यालय बहालवाला र अवकाश प्राप्त सैनिक व्यक्तिहरूका विशेष क्षमता भएका सन्ततीहरूको शिक्षा र जीवनोपयोगी क्षमता विकाशमा महत्त्वपूर्ण सावित हुने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले श्रीमती संघका सेवामूलक गतिविधिहरूको सराहना गर्दै यस विद्यालय संचालनका लागि सहायता जुटाउन आयोजित वरदान सुर सन्ध्यामा सहयोग पुर्याउने कलाकारहरू लगायत सम्वध्द सबैलाई धन्यवाद ज्ञापन गर्नुभयो । संघका अध्यक्ष श्रीमती सुनिता शर्माले वि.सं.२०४० कार्तिक २२ गते स्थापित सैनिक श्रीमती संघ सैनिक व्यक्तिहरूका परिवारको कल्याण सँगसँगै विपद प्रभावित र अभावमा रहेका सर्वसाधारणको हितका क्षेत्रमा समेत क्रियाशील रहँदै आएको कुरा बताउनु भयो ।
समारोहमा बलाधिकृत रथी श्री अशोकराज सिग्देल, यस्तै नेपाली सेना कल्याणकारी वोर्डका प्रमुख कार्यकारी अधिकृत रथी श्री गौरव तण्डुल (अ.प्रा.), रथीबृन्द तथा अधिकृत लगायत सैनिक श्रीमती संघका वर्तमान र पूर्व पदाधिकारीहरू, कलाकारहरू, विभिन्न सैनिक विद्यालयका शिक्षक तथा कर्मचारीहरूका साथै सकल दर्जाको उपस्थिति रहेको थियो ।