नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ। हिजो देखी काठमाडौंमा सुरु भएको केन्द्रीय समिति बैठकमा यसअघि भएको माओवादी रूपान्तरण अभियानका बारेमा समीक्षा सुरु गरिएको छ।
आज पनि सो अभियानका बारेमा छलफल हुने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यतालिका रहेको छ। फागुन १ गते देखी सुरु हुने विधान अधिवेशन अघि माओवादीले केन्द्रीय समिति बैठक बोलाएको छ।
सत्तारूढ माओवादीका प्रदेश इन्चार्ज र अध्यक्ष तथा आयोगका प्रमुखहरूले ‘जनतासँग माओवादी विशेष रूपान्तरण अभियान’ले पार्टीमा गति पैदा भएको दाबी गरेका छन् । राष्ट्रिय सभागृहमा आइतबार सुरु भएको केन्द्रीय समिति बैठकमा प्रदेशगत रिपोर्टिङ गर्दै प्रदेश इन्चार्ज र अध्यक्षले अभियानबारे जानकारी गराएका हुन् ।
दीर्घकालीन रणनीतिका साथ नेता–कार्यकर्ता नियमित जनतामा जाने गरी संगठन विस्तार र सुदृढीकरण गर्नुपर्नेमा उनीहरूको जोड छ । सुस्ताएको पार्टीलाई गति दिने काम जनतासँग माओवादी विशेष रूपान्तरण अभियानले गरेको उनीहरूको दाबी छ ।
आइतबारको बैठकमा उपत्यका विशेष प्रदेशका इन्चार्ज वर्षमान पुन, प्रवास इन्चार्ज राम कार्की, सम्पर्क समन्वयका इन्चार्ज गिरिराजमणि पोखरेल, कोशीका इन्चार्ज चक्रपाणि खनाल, मधेसका इन्चार्ज लीलामणि पोखरेल, बागमतीका इन्चार्ज जनार्दन शर्मा, गण्डकीका इन्चार्ज देवेन्द्र पौडेल, लुम्बिनीका इन्चार्ज हितमान शाक्य, कर्णालीका इन्चार्ज मातृका यादवले अभियानका बारेमा रिपोर्टिङ गरेका थिए।