काठमाडौं: २६ माघ , निर्वाचन आयोगमा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४७ बमोजिम प्रतिनिधि सभा तथा प्रदेश सभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूसँग परामर्श बैठक सम्पन्न भएको छ।
विदेशमा रहेका नेपालीहरूको मताधिकार सुनिश्चित गर्ने सम्बन्धमा सम्मानित सर्वोच्च अदालतबाट मिति २०७४/१२/ ०७ मा भएको निर्देशनात्मक आदेश तथा नेपाल सरकारको आ.व. २०८०/८१ को नीति तथा कार्यक्रमको बुँदा नं १६६ मा विदेशमा रहेका नेपाली नागरिकलाई आवधिक निर्वाचनमा मतदान गर्न पाउने व्यवस्था गरिनेछ भन्ने उल्लेख गरिएको सन्दर्भमा विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता प्रारम्भ गर्नुपर्ने अवस्था रहेको साथै नागरिकले घरदैलोमा मतदाता नामावली दर्ता सेवा प्राप्त गर्ने प्रयोजनका लागि स्थानीय तहमार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिकको व्यवस्था गर्नु वाञ्छनीय भएकोले विदेशमा रहेका नेपाली नागरिकको मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८० र स्थानीय तह मार्फत मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्यविधि, २०८० को मसौदा तयार गरिएको सम्बन्धमा माननीय प्रमुख निर्वाचन आयुक्त श्री दिनेश कुमार थपलियाज्यूले बैठकमा जानकारी गराउनुभयो।
यसैगरी स्थानीय तह निर्वाचन, २०७९ र प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७९ पश्चात हालसम्म रिक्त भएका इलाम जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.२ को प्रतिनिधि सभा सदस्य, बझाङ जिल्ला प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं.१ को प्रदेश सभा निर्वाचन क्षेत्र नं. १ को प्रदेश सभा सदस्य, नगरपालिका उपप्रमुख १, गाउँपालिकाका अध्यक्ष १, उपाध्यक्ष २ र वडा अध्यक्षहरू २० जना गरी कूल २६ जनाको रिक्त पदहरु उपनिर्वाचनद्वारा पूर्ति गर्ने सम्बन्धमा आयोगबाट भइरहेको तयारी बारे जानकारी गराउँदै उपनिर्वाचनको घोषणा भए पश्चात मतदाता नामावली दर्ता तथा अद्यावधिक कार्य स्थगन हुने कानूनी व्यवस्था भएबमोजिम उपनिर्वाचनको मिति तोकिनु पूर्वनै मतदाता नामावलीमा दर्ता हुन छुट भएका व्यक्तिलाई दर्ता गराउन राजनीतिक दलबाट सूचना सम्प्रेषण गर्दै दर्ता कार्यमा सहयोग गर्न तथा उपनिर्वाचनको मिति तोकिएपछि मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालनमा राजनीतिक दलबाट आवश्यक सहयोग हुन थपलियाले अनुरोध गर्नु भयो।
वि.स. २०७२ सालमा नेपालको संविधान जारी भएपछि भएका सबै तहका आवधिक निर्वाचन सम्पन्न गर्दा प्राप्त अनुभव, विभिन्न राजनीतिक दल, पर्यवेक्षक तथा विभिन्न सरोकारवालाबाट प्राप्त सुझाव समेतलाई मध्यनजर गरी तयार पारिएको निर्वाचन व्यवस्थापन विधेयक मिति २०८० आषाढ १८ गते संघीय संसदमा पेश गर्ने प्रयोजनार्थ नेपाल सरकारमा पेश भएकोमा हालसम्म पनि उक्त विधेयक संसदमा पेश भएको जानकारी प्राप्त नभएकोले यथाशीघ्र उक्त विधेयक संसदमा पेश गर्न सबै राजनीतिक दलहरुबाट पहल हुनसमेत अनुरोध गर्नुभयो।
उपस्थित विभिन्न पन्ध्रवटा राजनीतिक दलका प्रतिनिधिहरुले उपर्युक्त विषयमा आ-आफ्नो धारणा सहितको सुझाव व्यक्त गर्नुभएको उक्त बैठकमा आयोगका माननीय आयुक्तज्यूहरु, श्रीमान सचिवज्यू तथा निर्वाचन आयोगका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो।