काठमाडौं : नेपाल र क्यानडाबीचको तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले क्यानडालाई २२५ रनको लक्ष्य दिएको छ।
बिहीबार कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ओपनर कुशल भुर्तेलको अर्धशतकमा ५० ओभरमा सबै विकेट गुमाउँदा २२४ रन जोड्यो।
एकदिवसीय खेलमा सातौं अर्धशतक प्रहार गरेका कुशलले ५८ बलमा ९ चौका र १ छक्का प्रहार गर्दै ६२ रन जोडे।
कुशलका ओपनिङ पार्टनर आसिफ शेख ८ रनमै आउट भए भने कप्तान रोहितकुमार पौडेलले पनि ८ रनभन्दा बढी जोड्न सकेनन्। यस्तै भीम सार्की १७ रन र कुशल मल्लले पनि २० बनाए।
आरिफ शेखले ३८ रन जोड्दा नेपालको स्कोर बढेको थियो। आरिफले ५० बलमा ४ चौका प्रहार गरे। पवन सर्राफ पनि १५ रन जोड्दा क्यानडाका शाहिद अहमजाइको एलबिडब्लूको धरापमा परे।
सोमपाल कामीले जोडेको २७ रन नेपालका लागि महत्वपूर्ण सावित भयो। ४९ ओभरको पाँचौं बलमा आउट हुनुअघि उनले २३ बलमा १ चौका र २ छक्का प्रहार गरे। रिजन ढकाल अन्तिम ओभरमा ४ रनमा आउट भए भने सूर्य तामाङ १० रनमा नटआउट रहे। रिजन र सूर्यले नेपाली टिमबाट एकदिवसीय खेलमा डेब्यू गरेका हुन्।
बलिङमा क्याडनाका उदय भगवानले ३ विकेट लिए। उनले ८ ओभरमा १ मेडन राख्दा ४० रन खर्चिए। इश्वर सोधी र साद विन जाफरले २-२ विकेट लिन सफल भए।
सन्दीपलाई ‘मिस’ गर्दै हुटिङ गर्ने दुई जना प्रहरी नियन्त्रणमा
नेपाल र क्यानडाबीच एकदिवसीय शृंखलाको खेल भइरहँदा बलात्कार मुद्दामा दोषी ठहर क्रिकेटर सन्दीप लामिछानेको पक्षमा नारा लागेको छ ।समर्थकले सन्दीपको पक्षमा ब्यानरसहित नाराबाजी गरेका हुन् । उनीहरुले सन्दीप चाहियो भन्दै नारा लगाएपछि प्रहरीले रोक्ने प्रयास गरेको थियो । ४०औँ ओभरमा खेल चलिरहँदा उपस्थित समर्थकले सन्दीपको पक्षमा नाराबाजी गर्दा केहीबेर खेल नै प्रभावित भयो ।
‘सन्दीप हाम्रो शान हुन्, हामीलाई सन्दीप चाहियो’ भन्दै दर्शक दिर्घाबाट हुटिङ भएपछि प्रहरीले हस्तक्षेप गर्यो । केहि बेर स्थिति तनावग्रस्त नै भयो । प्रहरीले दर्शकले बोकेका केही ब्यानर खोस्नुको साथै दुई जनालाई नियन्त्रणमा समेत लियो । त्यस्तै मैदान भित्र रहेका खेलाडिले पनि खेल छाडेर केहि समय दर्शकहरुको गतिविधि नियाल्न थालेका थिए ।