नेकपा एमाले धादिङको नवौँ जिल्ला अधिवेशन अनिश्चित बनेको छ। आइतबार बन्द सन्त्रका क्रममा झडप भएपछि रोकिएको अधिवेशन अनिश्चित बनेको हो।
अधिवेशनमा भएको कुटाकुटको विषयमा छलफल गर्न आइतबार नै जिल्ला अध्यक्ष भूमि त्रिपाठीसहितका नेताहरूलाई एमाले अध्यक्ष केपी शर्मा ओलीले बालकोट बोलाएका थिए। उक्त छलफलमा मिलेर जाने र मंगलबार बाट अधिवेशन पुनः सुचारु गर्न निर्देशन दिएका थिए।
कुटाकुटको विषयमा छानबिन नगरी अधिवेशन अघि बढ्न नदिने अडान लिएपछि अधिवेशन अनिश्चित बनेको छ। शुक्रबारबाट सुरु भएको अधिवेशनमा आइतबार नेताहरुबीचमै कुटाकुटको स्थिती सिर्जना भएको थियो।
जिल्ला अध्यक्ष भूमि त्रिपाठीले जिल्ला कमिटीको निर्णय सुनाउँदै गर्दा जिल्लाकै एमाले नेता खेम लोहनी पक्षका नेताहरू विरोधमा उत्रिएका थिए।
जिल्ला कमिटीले निर्णय नै नगरेको भन्दै सुरु भएको बिवाद उत्कर्षमा पुगेपछि कुटाकुटको स्थिती सिर्जना हुँदा बैठक स्थगित भएको थियो।
बन्दसत्र सुरु हुनुअगावै अधिवेशनस्थलमा झडप भएपछि एमाले बागमती प्रदेशका अध्यक्ष कैलाश ढुंगेलले अधिवेशन स्थगित भएको विज्ञप्ति सार्वजनिक गरेका हुन्।
एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेलले जारी गरेको विज्ञप्तिमा अधिवेशनस्थलमा जिल्ला कमिटीका सदस्य र नेताहरूमाथि धक्कामुक्का भएको उल्लेख छ।
त्यसक्रममा पार्टी कार्यकर्ता सन्तोष खनालको हात भाँचिएको भन्दै सोमबारसम्मलाई अधिवेशन स्थगित भएको विज्ञप्ति ढुंगेलले सार्वजनिक गरेका थिए।
यता, अलपत्र बनेको अधिवेशनको विषयमा पार्टी केन्द्रीय कार्यालय च्यासलमा हाल बैठक भइरहेको जिल्ला अध्यक्ष भूमि त्रिपाठीनिकट स्रोतले जानकारी दियो।
स्रोतका अनुसार अब नेतृत्व टुंग्याउने विषयमा केन्द्रले निर्णय लिन सक्ने छ।