काठमाडौँ । त्रिकोणात्मक टी-२० अन्तर्राष्ट्रिय सिरिजको उपाधिका लागि घरेलु टोली नेपाल र युएईबीच प्रतिस्पर्धा हुँदैछ ।
प्रतियोगिताम लगातार विजयी हुँदै फाइनल पुगेको नेपाल र तीन खेल हारका बाबजुत फाइनल पुगेको युएई उपाधि होडमा भने नेपाललाई हराउने लक्ष्यमा रहेको छ ।
नेपाल, युएई र हङकङ समिलित सिरिजमा नेपालले युएई र हङकङलाई सबै ४ खेलमा पराजित गरेको थियो । युएईले भने हङकङलाई एक खेलमा पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । फाइनल बिहान ११ बजे कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा सुरु हुने छ । यसअघि लिग चरणका सबै खेल मुलपानी क्रिकेट मैदानमा भएको थियो ।
डबल राउण्ड रोविनका आधारमा भएको सिरिजमा नेपाल रवाफिलो प्रदर्शन गर्न सफल भयो । युएई र हङकङले समान एक खेल जिते पनि नेट रनरेटको आधारमा हङकङलाई पछि पार्दै युएई दोस्रो भएर फाइनल पुग्न सफल भयो ।
नेपालले पहिलो खेलमै युएईलाई ७ विकेटले पराजित गरेको थियो भने युएईलाई अर्को खेलमा ६ विकेटले हराएको थियो । यस्तै हङकङलाई पहिलो खेलमा ६ विकेटले र दोस्रो खेलमा ७९ रनले हराएको थियो ।
कात्तिक १३ देखि काठमाडौंमै सुरु हुने आईसीसी टी-२० विश्वकप एसिया छनोटको तयारीका रुपमा आयोजना भएको प्रतियोगितामा नेपालले उत्कृष्ट प्रदर्शन गरिरहेको छ । फाइनलमा पनि त्यही लय कायम राख्दै उपाधि जितेर आफ्नो विश्वकप छनोटको सम्भावनालाई पनि बलियो बनाउने लक्ष्यमा नेपाल रहेको छ ।
टी-२० आईमा नेपाल र यूएईबीच अहिलेसम्म कुल ७ खेल भएका छन् । जसमा नेपालले ४ खेल जित्दा यूएई तीन खेलमा विजयी भएको छ । नेपालले सन् २०१९ मा यूएई टुरमा तीन खेलको टी-२० शृंखला खेल्दा पहिलो खेलमा पराजित भएको थियो ।
तर, दोस्रो र तेस्रो खेलमा जित हात पार्दै नेपालले उक्त शृंखला २-१ ले जितेको थियो ।