काठमाडौँ । नेपाली कांग्रेस पर्वतका नेता स्वर्गीय याम शर्मा पौडेलको १३ औँ दिनको पुन्य तीथि सम्पन्न भएको छ । यही असोज १४ गते निधन भएका उहाँको १३ औँ दिनको पुन्य तीथिको अवसरमा पार्टीले श्रद्धाञ्जलीसभा आयोजना गरेको हो ।
नेविसंघमार्फत् राजनीतिक यात्रा तय गर्नुभएका उहाँले प्रजातन्त्र स्थापनाका लागि विभिन्न समयमा जेल जीवन समेत बिताउनुभएको थियो ।
श्रद्धाञ्जलीसभामा कांग्रेसका पूर्वमहामन्त्री शशांक कोइरालाले मानव जीवनमा मृत्यु एउटा सत्य भएको र यसलाई स्वीकार्नैपर्ने बाध्यता भएको बताउँदै नेता शर्माको निधनले पार्टी र सिङ्गो प्रजातन्त्रलाई क्षति पुगेको बताउनुभयो ।
यस्तै, पार्टीका केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशीले आफूलाई माया गर्ने नेता गुमाएको बताउँदै स-परिवारमा समवेदना व्यक्त गर्नुभयो ।
यसैगरी, स्वर्गीय शर्माका दाजु गंगाराज शर्माले भाववेहोल अवस्थामा बोल्दै आफूले आफ्नो अनुज गुमाएको बताउनुभयो । पूर्व माननीय ललितकला गुरुले पर्वलते प्रजातन्त्र प्राप्तिका लागि योद्धा गुमाएको बताउनुभयो ।
पर्वत-काठमाडौँ सम्पर्क समितिका सभापति ओम शर्मा चापागाईँ सभापति रहनुभएको उक्त श्रद्धाञ्जलीसभा कार्यक्रममा नेविसंघका अध्यक्ष दुजाङ शेर्पा, राजेन्द्र तिवारी, कमल लम्साल, निलकण्ठ लस्साल, शोभा सापकोटा, जगदिश चन्द्र उपाध्याय, सकुन्तला शर्मा लगायतका परिवारका सदस्य र आफन्तजनको उपस्थिति रहेको थियो ।
शर्माको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दु:ख व्यक्त गर्नुभएको थियो । त्यस्तै राष्ट्रपति रामचन्द्र पौडेलले पनि शोक सन्देश पठाउनुभएको थियो ।