भक्तपुर, २५ साउन (रासस) : भक्तपुर नगरपालिका–१० कमलविनायक भत्केको पाटीमा सडकभरि खाल्डैखाल्डो । अलिमाथि नेपाली सेनाको खरिपाटी ब्यारेकदेखि चाँगुनारायण नगरपालिका कार्यालय अगाडिसम्म कालोपत्र उप्किएर बनेका उस्तै खाल्डाहरु ।
त्यसमाथि नेपाली सेनाको ब्यारेक क्षेत्र घुमाउनेमा बाटो नै खस्ने गरी चर्किएको सडक, नगरकोटसम्म कालोपत्र भत्किएर बनेका खाल्डोभरि जमेको पानी, हिलाम्मे सडक । दश वर्ष अगाडि निर्माण सुरु भएर अझैसम्म सम्पन्न नहुँदा पटकपटक चर्चामा आइरहने ‘भक्तपुर–नगरकोट सडक खण्ड’को दृश्य हो यो । कमलविनायकदेखि नगरकोटसम्म देखिएको सडकको दूरावस्ता, ठाउँठाउँमा सडकको छेउँमा चर्किएर सडक नै पहिरोमा जाला भन्ने त्रास, सडकमाथिबाट झरेका पहिरोले कतिखेर मानवीय क्षति हुने दुर्घटना निम्त्याउँला भन्ने अर्को त्रास ।
प्रमुख पर्यटकीय गन्तव्य नगरकोट जाने सडक हुँदै आहोरदोहोर गर्ने यहाँका बासिन्दाले विगत १० वर्षदेखि वर्षामा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने उक्त सडकबाट खेप्नु परेको सास्ती कम दर्दनाक छैन । सडक निर्माणकै क्रममा वास्तोला गाउँमा भएको दुर्घटनामा एक स्थानीयले मृत्युको पीडा मात्रै होइन वर्षामा ठूलो पानी पर्दा हिलाम्मे सडकबाट बगेको हिलोपानीको आहाल घरभित्र पस्दा खेप्नु परेको सास्ती, हिउँदमा धुलाम्मे सडकका कारण व्यहोर्नु परेको स्वास्थ्य समस्याको पीडा यहीँ सडक भएर ओहोरदोहोर गर्नेदेखि यहीँ सडक आसपासका बासिन्दाको दैनिकी कठिन भोगाइ बनेको छ ।
दश वर्षमा नवौँ पटक म्याद थप
दुई वर्षमा सम्पन्न गर्ने गरी ठेक्का सम्झौता भएर सुरू भएको भक्तपुर–नगरकोट सडकखण्डको फेरि अन्तिम पटक भन्दै नवौँ पटक म्याद थप भएको छ । आगामी पुस मसान्तसम्म निर्माण सम्पन्न गरेर हस्तान्तरण गरिसक्नु पर्नेगरी सरकारले साउन ३ गते अन्तिम पटकका लागि म्याद थप गरेको विगत दुई वर्षदेखि सोही सडकको गुणस्तरीय परीक्षण गर्दै आउनुभएकी भक्तपुर नगरकोट सडक योजना कार्यालयकी सब इञ्जिनियर सुमिता धुकुछुले बताउनुभयो ।
उहाँले भन्नुभयो, “अब करिब ५०० मिटर सडकको काम गर्न बाँकी छ, कालोपत्र उप्किएर बनेका खाल्डाखुल्डी सडकको मर्मतसमेत सन्पन्न गर्दै आउँदो असोजसम्ममा सडक हस्तान्तरण गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ, त्यतिखेरसम्म सकिन्छ ।”
एक्जिम बैंक इन्डियाको ऋण सहयोगमा नेपाल सरकारसँग २०७३ असार ३ गतेसम्म सम्पन्न गर्नेगरि २०७१ जेठ २२ गते शैलुङ कन्स्ट्रक्सन र भारतीय कम्पनी अराभली इन्फ्रापावर लिमिटेडले संयुक्त निर्माण गर्ने गरी २७ करोड रूपैयाँमा ठेक्का सम्झौता भएको उक्त सडकको लागत बढेर भ्याटसहित ३१ करोड पुगेको उहाँले बताउनुभयो ।
भक्तपुरको भत्केकोपाटीदेखि नगरकोटसम्मको १५.६ किलोमिटर लामो उक्त सडकखण्डको काम नसकिएपछि गत चैतमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गतको सडक विभाग मातहत रहेको सडक सुधार तथा विकास परियोजना निर्देशनालयले ठेक्का सम्झौता रद्द गर्ने १४ दिने सूचनासमेत जारी गरेको थियो ।
तत्कालीन उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले गत फागुन १८ गते उक्त सडकखण्डको अनुगमन गर्दै चैत महिनाभित्र सडक निर्माण सम्पन्न गरी हस्तान्तरण नगरे ठेक्का सम्झौता रद्द गरी निर्माण कम्पनीलाई कारबाही गर्ने बताउनु भएपनि नयाँ मन्त्री आएपछि नवौँ पटक म्याद थप भएको हो । त्यसो त सरकारले अन्तिमपटक भन्दै २०७८ चैत १९ सम्मका लागि सातौँ पटक र २०७९ पुस मसान्तसम्म सम्पन्न गर्नेगरी फेरि आठौँ पटक म्याद थप गरेको थियो ।
विभिन्न चरणमा अनुगमनमाथि अनुगमन
भक्तपुर नगरकोट सडक खण्डको प्रगतिबारे जान्न भक्तपुरका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालको नेतृत्वमा राजनीतिक संयन्त्रका प्रतिनिधि, जनप्रतिनिधिसहितको टोलीले गरेको अनुगमनमा सडक निर्माणमा गुणस्तरहिन काम भएको निष्कर्ष निकालेको छ ।
त्यसो त यसअघि २०७९ फागुन १८ गते तत्कालिन उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठले उक्त सडकको अनुगमन पछि जनतासँग फागुन महिनाभित्र सम्पन्न नगरे कारबाही गरेर ठेक्का रद्द गर्ने आश्वासन दिनुभएको थियो ।
त्यसअघि २०७८ कात्तिक २८ गते तत्कालीन भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणुकुमारी यादवले उक्त सडकको अनुगमन गरी स्थानीयसँग दुई महिनाभित्रमा निर्माण सम्पन्न नभए ठेक्का रद्द गरेर कम्पनीलाई कारबाही गर्ने प्रतिबद्धता जनाउनुभएको थियो । श्रेष्ठ र यादवले अनुगमन गर्दा स्थानीयले सडकमै सुतेर र सडकमै घेराबन्दी गरेर अबरोध गरेका थिए । त्यसअघि २०७६ साउन १३ गते तत्कालीन प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले अनुगमन गरी सन् २०२० को नेपाल भ्रमण वर्षअगावै सडक कालोपत्र पूरा गर्न निर्देशन दिएको थियो ।
विसं २०७६ मङ्सिर ४ गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनलगत्तै प्रधानमन्त्री कार्यालयका सहसचिव यामलाल भुसालको संयोजकत्वको टोलीले, त्यसपछि तत्कालीन भौतिक योजनामन्त्री वसन्त नेम्वाङले, तत्कालीन मन्त्री एवं सांसद महेश बस्नेत, चाँगुनारायण नगरपालिकाका तत्कालन प्रमुख सोमप्रसाद मिश्रसहितको टोलीले, नगर प्रमुख जीवन खत्री, उपप्रमुख रमेश बुढाथोकीसहितको टोलीले पटकपटक यस सडकको अनुगमन गर्दै छिटो निर्माण सम्पन्न गराउन दबाब दिँदै आउनुभएको थियो ।
प्रधानमन्त्रीहरुसँगको भेट र आन्दोलनले पनि भएन सम्पन्न
यस सडक निर्माण छिटो सम्पन्न गराउन दबाब दिन स्थानीयवासी र जनप्रतिनिधिले पटकपटकका प्रधानमन्त्रीहरुसँग भेट गरेर जानकारी गराउँदा र पटकपटक आन्दोलन गर्दा पनि नतिजा दिन सकेन । सडक निर्माण सुरु भएपछि चाँगुनारायण नगरपालिकाका तत्कालीन नगर प्रमुख मिश्रको नेतृत्वमा गएको टोलीले तत्कालिन प्रधानमन्त्री पुष्पकमल दाहाल, तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरी सडक छिटो निर्माण सम्पन्न गराउन माग गर्नुभएको थियो ।
मिश्र भन्नुहुन्छ, “सरकार परिवर्तन हुने बित्तिकै प्रधानमन्त्रीदेखि मन्त्रीसम्मलाई भेटेर ज्ञापनपत्र दिने र छिटो निर्माण सम्पन्न गराइदिन माग गर्दै दबाब दिएकै हो, तर नतिजा निस्किन नसक्दा, यस्ता ठेकेदार सरकारभन्दा बलिया हुँदा रहेछन् जस्तो लाग्यो ।”
त्यसो त २०७८ मा बागमती प्रदेशका तत्कालीन भौतिक योजनामन्त्री कृष्णलाल भँडेल, माओवादी केन्द्रका केन्द्रीय नेता डि.पी. ढकालले माओवादी केन्द्रका अध्यक्ष दाहालसँग तत्कालीन नेकपा भक्तपुरले तत्कालीन भौतिक योजना मन्त्री वसन्त नेम्वाङसँग, नगरपालिकाका प्रमुख खत्री, माओवादी केन्द्रका नेताहरुसहितको माओवादी केन्द्रका अध्यक्ष दाहालसँग भेटेर आश्वासन पाएपनि तीब्रगतिमा काम भने भएन ।
जनप्रतिनिधि, स्थानीयवासी र पर्यटन व्यवसायीले सडक छिटो सम्पन्न गर्न माग गर्दै पाँच वर्षदेखि पटकपटक आन्दोलन गर्दै आएका छन् । स्थानीयले सडक अबरुद्ध गर्ने, ठेकेदार शारदाप्रसाद अधिकारीको तस्विर बादरसँग जोडेर पोष्टर सार्वजनिक सवारी साधन र सडकको भित्ता भित्तामा टाँस्ने, चाँगुनारायण नगरपालिका वडा नं. ६ र ७ का वडाध्यक्षले २०७९ असार १७, देखि १९ गतेसम्म सडकमै कार्यालय सञ्चालन गर्ने, नगरकोटका पर्यटन व्यवसायीले सडक अवरुद्ध गर्दै आए पनि अझै सडक निर्माणले पूर्णता पाएको छैन ।
यस्तो छ सरोकारवाला निकायको भनाइ
भक्तपुरका प्रजिअ रिजालले भक्तपुर नगरकोट सडक निर्माणको अन्तिम चरणमा पुगेपनि गुणस्तरहिन कालोपत्र र खाल्डैखाल्डोले अहिले नै स्तरोन्नतिको आवश्यकता रहेको बताउनु भयो । उहाँले निर्माण व्यवसायीले स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालय, सरोकारवाला निकायसँग समन्वय गरेर आएको समस्या समाधान गर्दै आउँदो दशैसम्ममा सम्पन्न गर्न दबाद दिने बताउनु भयो ।
चाँगुनारायण नगरपालिकाका प्रमुख जीवन खत्रीले प्रधानमन्त्री, भौतिक योजना मन्त्रीदेखि बिभिन्न निकायमा धाएको बताउदै सडक निर्माण सम्पन्न नगरे कारबाही गर्नुपर्ने बताउनुहुन्छ । उपप्रमुख रमेश बुढाथोकीले आयोजनालाई पटकपटक बोलाउँदा पनि नगरपालिकामा समन्वय गर्न नआएको बताउँदै समस्या आएको ठाउँमा नगर प्रमुख तथा उपप्रमुख आफै उभिएर समस्या समाधान गर्न तत्पर रहेको बताउनुभयो । जनताको घरदैलोमा जानै नसक्ने अवस्था यो सडकले बनाएको बताउनुभयो ।
राप्रपाका केन्द्रीय उपमहामन्त्री एवं स्थानीयवासी रबिन्द्रप्रताप शाहले पानी पर्ने समयमा पहिरो र हिलोको समस्या, अरुबेलामा धुलोको समस्याले हैरान भएको भन्दै स्थानीयको पूर्ण सहयोग रहेपनि लापर्वाही गर्ने ठेकेदारलाई कारबाही गर्नु पर्नेमा उल्टै म्याद थप गरेर पुरस्कृत गरेको बताउनुहुन्छ ।
एमालेका जिल्ला अध्यक्ष बचन देउजाले पहिलाको तुलनामा सडक धेरै बनेको देखिए पनि एक महिना पछि आउँदा नयाँ सडकसमेत बिग्रेर खाल्डो हुने गरि गुणस्तरहिन काम भएको बताउनुभयो । माओवादी केन्द्रका जिल्ला संयोजक सुनिल वासुले सडक नै पहिरोको जोखिममा परेको बताउदै स्थानयिदेखि निर्माण कम्पनीसम्मको लापर्वाही देखिएको बताउनुभयो । नेमकिपाका जिल्ला अध्यक्ष न्हुच्छेभक्त फोजूले पर्यटकीय सडकको कन्तबिजोग देख्दा सडक निर्माणमा लापर्वाही गर्नेको म्याद थप्ने नभई लाइसेन्सनै खारेज गर्नु पर्ने बताउनुहुन्छ ।
नेपाली काँग्रेसका जिल्ला सचिव सुशील बस्नेतले योजना ओगट्ने र म्याद मात्रै थप्ने गर्नु भन्दा यस्तै हालतमै भए पनि सडक हस्तान्तरण गरे नयाँ बजेट ल्याएर छिटो काम गर्न सकिने बताउनुभयो । रास्वपाका जिल्ला संयोजक रामेश्वर बस्नेतले अब पनि सडक सन्पन्न नगरे जनस्तरबाट सरकारलाई नै दबाब सिर्जना गर्नुपर्ने बताउनुभयो ।
चानपा–६ नगरकोटका वडाध्यक्ष धनबहादुर लामाले वर्षाैंदेखि जनताले दुःख भोग्दै आएको बताउदै आउँदो दसैँैमा हुने नगरकोट सडक महोत्सव अगावै निर्माण सम्पन्न हुनुपर्ने बताउनुहुन्छ । नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नवीन गुरुङले सडककै कारण यहाँको पर्यटन व्यवासय धरासायी बन्दा अर्बौंको लगानी र हजारौको रोजगारी खोसिने अवस्थामा पुगेको भन्दै नगरकोट सडक निर्माण सम्पन्न गर्न सरकारले दबाब दिनुपर्ने बताउनुहुन्छ ।
यसो भन्छन् आयोजनाका कर्मचारी
आयोजनाकी सव–इन्जिनियर साधना तिवारीले नेपाली सेनाले ढल हाल्न र ड्र्ेनको पानी खसाल्न नदिँदा घुमाउनेमा सडकनै पहिरो जाने अवस्थामा पुगेको, शिवशिखर सहकारीको पानी, चकलेट, प्याकेनिजङ फुड कारखानाको पानी सडकमा खसाल्दा खाल्डैखाल्डो भएको, युटर्नमा जग्गा प्लानिङ गर्नेहरुको पहिरो आएर पटकपटक अबरोध गरेको, बाधमारालगायत विभिन्न ठाउँमा नगरपालिकाले विस्तार गरेको शाखा सडकको सानो ड्र्ेनले सडक बिगारेको, स्थानीयले निर्माण सामग्री सडकमै थुपार्दा कमजोर बनेको, कतै कुलो र कलर्भट नै पुरिदिँदा सडकबाटै पानी बगेर जोखिम भएको बताउनुभयो ।
शैलुङ कन्स्ट्रक्सनका प्रोजेक्ट म्यानेजर अनुप अधिकारीले सार्वजनिक खरिद नियमावली १२औँ संशोधनले आयोजनाको म्याद थप भएको बताउँदै अबको दुई महिनाभित्र सडक निर्माण सम्पन्न गरेर हस्तान्तरण गर्ने दाबी गर्नुभयो । उहाँले नगरकोट बसपार्कमा विद्युत्को खम्बा सार्नुपर्ने र त्यसका लागि प्राधिकरणलाई रकम बुझाइसकेकाले पोल सार्नेबित्तिकै बाँकी काम पनि सम्पन्न गर्ने बताउनुभयो ।
रमेश गिरी