काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज मंगलबारदेखि बस्दैछ । बैठक पार्टी मुख्यालय सानेपामा आज दिउँसो १ बजेदेखि सुरु हुनेछ ।
बैठक यसअघि असार २७ गते बस्ने भनिएको भएपनि त्यसबेला प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' पत्नी सीता दाहालको निधन भएका कारण आजका लागि सरिएको हो ।
आजको बैठकमा छलफलका लागि १० एजेन्डा तय गरिएको छ । जसका लागि हिजो सोमबार पार्टी सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठक बोलाएका थिए ।
पार्टी पदाधिकारी र पूर्व पदाधिकारीहरुको बैठकमा सभापति देउवासहित महामन्त्रीद्वय गगन थापा र शर्माले बैठकका अजेन्डाका सन्दर्भमा प्रस्ताव राखेका थिए ।
समसामियक राजनीतिक घटनाक्रम, सांगठनिक कार्ययोजना, राष्ट्रव्यापी अभियानको घोषणा, कार्यसम्पादन समिति बैठकका निर्णय अनुमोदन, निर्वाचन परिचालन समितिको प्रतिवेदन, नीति अधिवेशनको प्रस्ताव, विभाग गठन, अनुशासन समितिको प्रतिवेदन पेस, संसदीय दलको समीक्षा र संघ, प्रदेश र स्थानीय सरकारको समीक्षासँग सम्बन्धित विषय छलफलको एजेन्डा तय भएका छन् ।
सो बैठक कम्तीमा १ हप्तासम्म चल्ने जनाइएको छ । जसमा पहिलो दिन दिउँसो १ बजेदेखि सुरु हुने र त्यसपछि भने हरेक दिन बिहान ११ बजेदेखि सुरु हुने बताइएको छ ।