उच्च शिक्षा अध्ययनका लागि काठमाडौँका विभिन्न कलेजहरू बुझ्ने क्रममा मैले मेरो साथी विनयको माध्ययमबाट यस सरस्वती बहुमुखी क्याम्पसको बारेमा बुझ्ने मौका पाएको थिएँ । साथीले विगतमा यस कलेजको नतिजा र यहाँका शिक्षकहरू र कलेज प्रशासनको बारेमा मलाई सबिस्तार बताइरहँदा मलाई पनि यस कलेजमा अध्ययन गर्ने उत्कट इच्छा जाग्यो र इन्ट्रान्सको लागि तयारी गरियो । इन्ट्रान्समा नाम निस्किसकेपछि भर्नाका लागि उनै साथी विनयलाई अनुरोध गरेँ । जस अनुरुप उनले हामी दुवैको भर्ना गरे ।
हुन त: यस कलेजमा मैले स्नातक अध्ययन गरिसकेको थिएँ । बिबिएस अध्ययन यही गरेको भएपनि कामसँगै अध्ययन गर्ने हुँदा आफ्ना गुरूहरू बाहेक कलेजका अन्य कुराहरूसँग त्यती परिचित हुन पाएको थिएन । त्यसकारण पनि थप जान्नका लागि साथीको सहायता लिनुपर्यो । स्नातकमा पनि राम्रै वातावरण लागेकाले स्नातकोत्तरमा पनि त्यस्तै हुने मेरो अनुमान थियो र भयो पनि ।
केही समय काम र पारिवारिक उल्झनका कारण पढाइलाई निरन्तरता दिन नसकेको मैले अब पुन:अध्ययन गर्नुपर्दछ भन्ने लाग्यो । यही अनुरुप मेरो पारिवारिक र व्यावसायिक जीवनलाई अलिक व्यवस्थापन गरी अध्ययनका लागि समय निर्धारण गरियो । धेरैँ ग्यापपछि अध्ययनका लागि कलेज आएको म, कलेजको सुरुको दिन मनमा अनेकन सवालहरू उलछकुँद गरेका थिएँ । कलेज आएँ, सुरुको दिन सरहरूले वरिन्टेशन क्लाश दिनुभयो । वार्षिक प्रणाली अनुसार अध्ययन गरिरहेको मैले सेमेस्टर प्रणालीमा अध्ययन गर्ने प्रक्रीया र नतिजाको बारेमा जान्ने अवसर पाएँ । साथै, अलिक डर जस्तो पनि महसुस भयो । कम समयमा पनि जान्नुपर्ने र सिक्नुपर्ने कुराहरू धेरैँ थिए । त्यसमाथि पनि म त परिवार र व्यावसायिक जीवन पनि सँगै लैजानुपर्ने मान्छे यो सबै अनुकूल होला त ? भनी आफैलाई प्रश्न पनि गरेँ । पछि यसको जवाफमा क्लाशका अन्य साथीहरू पनि पाएँ । कारण यहाँ अध्ययन गर्ने मेरा अन्य सहपाठी साथीहरू पनि मेरै जस्तो परिस्थिति र परिवेशबाट आउनुभएको रहेछ ।
वरिन्टेशन पछि, नियमित क्लाशमा आउन थालेपछि क्लाशका साथीहरूसँपनि चिनजान हुँदै गयो । सरहरूसँग पनि विस्तारै घुलमिल हुँदै गए । यसबाट पनि मेरो दुविधा कम हुँदै गयो । त्यो मेरो क्लाशको पहिलो दिन थियो, क्लाशमा मार्केटिङ पढाउने नेत्र पाण्डे सर आउनुभयो । सरले पढाइ र अन्य कुराहरू जोडेर केही उदाहरण दिनुभयो । जसबाट हामीलाई धेरैँ सिकाइ र सिक्न प्रेरणा पनि मिल्थ्यो ।
नियमित क्लाशका क्रममा पनि गुरुहरूबाट राम्रो साथ पाइयो । नजानेको कुरापनि सहजै भन्न सक्ने र सिक्नसक्ने वातावरण थियो क्लाशमा । मलाई सुरुवाती दिनदेखि नै निकै सहज लाग्यो मार्केटिङ पढाउन नेत्र पाण्डे सरसँग सरले पढाइ र जीवनसँग जोडिएका धेरैँ कुराहरू गर्नुहुन्थ्यो । उहाँको भोगाइ र उदाहरणहरूबाट निकै सकारात्मक ऊर्जा मिल्यो सँगै केही गर्नुपर्छ भन्ने प्रेरणा र हौसला पनि । सम्झनुपर्ने प्राय:सबै गुरुहरू हुनुहुन्छ । अर्थशास्त्र पढाउने खुमराज सर जसले जहिल्यौ तार्किक र वस्तुपरक कुरा मात्र गर्नुभयो । जसबाट पढाइ र त्यसको उपयोगिताबारै झनै गहन ढङ्गबाट बुझ्ने मौका मिल्यो । यसैगरी स्ट्याटिक्सको ठाकुरप्रसाद वाग्ले सर, संगठनात्मक व्यवहारको नारायण अर्याल सर, व्यावसायिक सञ्चारको विनोद सापकोटा सर र सहायक क्याम्पस प्रमुख शिवराज घिमिरे सर । जसबाट मैले धेरैँ कुराहरू सिक्ने र आफूलाई परिमार्जन र परिस्कृत गर्ने अवसर पाएँ । सहपाठीहरू पनि सहयोगी, कलेजको वातावरण पनि रमणीय भइकन पहिलो सत्रको अन्ततिर आइपुगियो ।
अझ यो अवधिमा भुल्नै नहुने नाम क्याम्पस प्रमुख गोलमान गुरुङ सरको पनि हो । स्नातककोत्तर जस्तो उच्च शिक्षामा पनि विद्यार्थी, कलेज, शिक्षक र प्रशासनसँगै सबै कुरालाई उसैगरी व्यवस्थित एवम् प्रभावकारी बनाइ हाम्रो यस कलेजको गरिमासँगै उच्च शिक्षा हाँसिल गर्ने हाम्रो सपनालाई पूरा गर्न दिनुभएको योगदान निकै सम्माननीय छ । व्यक्तिगत रुपमा मैले पाएको ऊर्जा र प्रेणाको सविस्तार आगामी सत्रको अध्ययनसँगै गर्दै जाउँला...!
समय अचम्मको चिज रहेछ । कहिलेकाहीँ कसैको पर्खाइमा हुँदा मिनेट पनि घण्टौँ लाग्छ । तर, सुखद् पल छ भने निकै लामो घडी पनि कम लाग्छ । मलाई पनि यस्तै भयो । पहिले सत्र(सेमेस्टर)को यो छ महिने अवधि कसरी सकियो पत्तै भएन । यद्यपि काम, अनुभव, भोगाइ र सिकाइको कुरा गर्ने हो भने निकै स्मरणीय र दीर्घकालीन छाप रह्यो । यस अवधिमा त्रिवीको स्वीयु निर्वाचन पनि भयो । जसमा हाम्रो कलेजमा नेपाली कांग्रेस निकट विद्यार्थी संगठन नेविसंघका मुस्कानराज गौतम सभापति सहितको टोली निर्वाचित भयो । आशा छ उक्त टिमले हाम्रो कलेजको अध्ययन वातावरणमा निकै टेवा पुर्याउनेछ ।
कलेजको इन्टरनल इक्ज्याम, टम पेपरलगायतका कुराहरूले पनि अध्ययनको दायरा फराकिलो बनाउनको लागि निकै टेवा पुग्यो । साथीहहरूबाट धेरैँ कुरा सिक्ने र आफूसँग भएका केही अनुभवहरू सेयर गर्ने मौका पनि मिल्यो ।
विविध बाध्यात्मक परिस्थितिका बाबजुद पनि यस कलेजको आन्तरिक वातावरण, गुरुहरू, कलेज प्रशासन र सहपाठी साथीहरूका कारण सहजताका साथ यो पहिलो सेमेस्टर सकियो । आशा छ अबका सेमेस्टर अध्ययनका क्रममा पनि हामी बीचको यो वातावरण झनै प्रगाढ र प्रभावकारी बन्ने छ । र हामी विद्यार्थीको व्यक्तित्व विकास मात्र नभएर कलेजको मान, प्रतिष्ठा र इज्जतमा समेत बढावा हुनेछ ।
धन्यवाद!