कर्णाली । संविधानले तीनै तहका सरकारबीच समन्वय, सहकार्य र सहअस्तित्व हुनुपर्ने व्यवस्था गरे पनि त्यसो हुन नसकेको सरोकारवालाले औँल्याएका छन् ।
कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा बिहीबारदेखि सुरु भएको दुईदिने ‘राष्ट्रिय कचहरी’को पहिलो सत्रमा उठान गरिएको ‘अन्तरसरकारी समन्वयः चुनौती र अवसर’ शीर्षकमा सहभागी वक्ताहरूले सङ्घीय व्यवस्थामाथि प्रश्न उठ्नुमा सङ्घले प्रदेश सरकार र स्थानीय सरकारलाई संविधानतः अधिकार दिन नसकेको जिकिर गरेका हुन् । कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाहीले भन्नुभयो ,“प्रदेश सरकार न आकाश, न त धर्तीमा जस्तो छ । न यसको आफ्नो जमिन छ न कुनै अन्य संरचना नै । प्रमुख सचिव कहाँ गयो भन्ने कुरा मुख्यमन्त्रीलाई थाहा छैन । यस्तो व्यवस्था कसरी प्रभावकारीरूपमा कार्यान्वयन भएर विकास र समृद्धिको सपना पूरा हुन्छ ।” सङ्घीय सरकारले प्रहरी, शिक्षा तथा निजामती कर्मचारी ऐन ल्याउन नसक्दा प्रदेश सरकार तथा स्थानीय तहको कार्यसञ्चालन तथा सम्पादनमा समस्या भएको पूर्व मुख्यमन्त्री शाहीको भनाइ थियो ।
पूर्वमुख्यसचिव सोमलाल सुवेदीले संविधान बनाउँदा कर्मचारीका विषयमा छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, “यो व्यवस्था कार्यान्वयन प्रमुख जिम्मेवारी राजनीतिक नेतृत्वको नै हो । अहिले हामी त्यो कार्यकारी भूमिकामा छैनौँ । आवश्यक सल्लाहका लागि हामी तयार नै छौँ ।” संविधानमा व्यवस्था भएबमोजिम तीनै तहका सरकारका एकल तथा साझा सूचीका अधिकारहरूको समुचित प्रयोगबाट सङ्घीयताको प्रभावकारी कार्यान्वयन हुने पूर्वमुख्य सचिव सुवेदीले जनाउनुभयो ।
वीरेन्द्रनगर नगरपालिका सुर्खेतका प्रमुख मोहनमाया ढकालले तीन तहका सरकारबीच आपसी समन्वय, सहकार्य र सहअस्तित्व कायम नभएको जिकिर गर्नुभयो । स्थानीय तहले सङ्घबाट पठाइने प्रमुख प्रशासकीय अधिकृतलाई आपसी समझदारीबाहेक आफैँले निर्देशन दिने, परिचालन गर्ने अधिकार नहुँदा हीनताबोधको अवस्था सिर्जना भएको प्रमुख ढकालले दुःखेसो व्यक्त गर्नुभयो । उक्त सत्रको सहजीकरण सङ्घीयतासम्बन्धीका विज्ञ परशुराम मेघी गुरुङले गर्नुभएको थियो ।
कचहरीको दोस्रो सत्रमा ‘पूर्वाधार, सञ्जालीकरण र वृद्धि’ शीर्षकमा छलफल भएको थियो । यसमा भाग लिँदै कर्णाली प्रदेश योजना आयोगका उपाध्यक्ष योगेन्द्रबहादुर शाहीले मुलुकको समृद्धिको द्योतक पूर्वाधार विकास भएको बताउनुभयो । उहाँले कर्णालीको पूर्वाधार, सञ्जालीकरण गर्न सके सिङ्गो देशको आर्थिक वृद्धिमा नै सहयोग पुग्ने जनाउनुभयो ।
अर्थ मन्त्रालयका सहसचिव धनिराम शर्मा र लगानी बोर्डका ‘ट्रान्सपोर्ट’ विज्ञ विवेक गुप्ताले बुढीगङ्गा नगरपालिका बाजुराका पूर्वउपप्रमुख सृष्टि रेग्मीसहित पूर्वाधारको विकास मानव जीवनमा पारेको प्रभाव र त्यसले अर्थतन्त्रमा ल्याएको परिवर्तनका विषयमा आफ्नो विचार व्यक्त गर्नुभएको थियो । उक्त सत्रको सहजीकरण राष्ट्रिय योजना आयोगका पूर्वसदस्य मीनबहादुर शाहीले गर्नुभएको थियो ।
स्थानीय सरकार सवलीकरण, द एसिया फाउन्डेसन, अष्ट्रेलियन एड, सेभ द चिल्ड्रेन, गुड नेइबर्स इन्टरनेशनल, वल्र्ड भिजन, प्लान इन्टरनेसनल, एक्सन एड, मिसन इष्ट र प्राक्टिकल एक्सनको सहकार्य र कर्णाली एकीकृत ग्रामीण विकास तथा अनुसन्धान केन्द्र (किर्डाक) नेपालको आयोजनामा ‘राष्ट्रि«य कचहरी’ सञ्चालन भएको छ ।
–––
श्रोतः रासस