कोरोनाका सङ्क्रमित, बिरामी र ज्यान गुमाउने बढेपछि काठेखोलाका विभिन्न वडाका घरघरमा मास्क, टोलटोलमा थर्मलगन र अक्सिमिटर अभियान चलाइएको छ । सङ्क्रमितको घरघरमा कोरोना किटका रूपमा सबै प्रकारका औषधि र स्वास्थ्य सामग्री वितरण गरिएको छ । जनप्रतिनिधि, गाउँका सामाजिक अगुवा, व्यवसायी र विदेशमा रहेका युवाको सहयोगसमेत जुटाएर ती सामग्री वितरण गरिएको हो ।
स्वास्थ्य सामग्री हरेक घरमा पुग्ने गरी दिइएको वडा नं १ का अध्यक्ष खड्ग थापाले बताउनुभयो । “हामीले आफ्नो कोषमा दातासमेत खोजेर जुटाएको रकमबाट स्वास्थ्य सामग्री दिएका हौँ”, थापाले भन्नुभयो, “अत्यावश्यक पर्ने सिटामोलदेखि अन्य औषधि, स्यानिटाइजर र मास्क पनि दिएका हौँ ।”
सङ्क्रमितले घरमै प्राथमिक उपचार पाउने, परिवारका सबै सदस्य स्वस्थ्य रहने अवसरका लागि सामान दिएको उहाँले बताउनुभयो । लेखानी र बिहुँमा भने स्थानीय तथा विदेशका युवाले पठाएको रकम परिचालन गरेर सामग्री वितरणलाई व्यापक बनाइएको छ । स्वास्थ्यकर्मीले पनि घरघरमा स्वास्थ्य परामर्श दिन थालेको वडाध्यक्ष चित्रकला छन्त्यालले बताउनुभयो ।
कोरोना महामारी बढेपछि चिन्तित गाउँलेहरू सहयोग पाएर खुशी भएका छन् । “घरमै आएर स्वास्थ्यकर्मी, पत्रकार र रेडक्रसका पदाधिकारीले भेट गर्नुभयो”, सिगानाका सङ्क्रमितले भन्नुभयो, “परामर्शसहित औषधि पायौँ, डर पनि हटेको छ ।”
धेरै सङ्क्रमित भेटिएका काठेखोला, बडिगाड गाउँपालिका र बागलुङ नगरपालिकाका वडा तहमा यो अभियान चलेको हो । सहयोग जुटाएर हरेक घरमा ५० थान मास्कसहित सामग्री वितरण गरिएको नेपाल रेडक्रस सोसाइटी बागलुङका कोषाध्यक्ष श्रीधर कँडेलले बताउनुभयो । कोरोना सङ्क्रमितमध्ये ज्वरो, रुघाखोकी मात्र नभई कतिपयलाई बान्ता, पखाला र शरीर दुख्ने समस्या देखिएको थाहा पाएपछि स्वास्थ्यकर्मीकै उपस्थितिमा आवश्यक औषधिको जोहो गरिएको उहाँले बताउनुभयो ।
स्वास्थ्यकर्मीले सङ्क्रमितको अवस्था हेरेर भिटामिन सी, जिङ्कचक्की, पकेट स्यानिटाइजरलगायत सामग्री दिएका छन् । बडिगाडका युवाले सङ्क्रमितको उपचार तथा आइसोलेशन सञ्चालनका लागि लाखौँ रकम जुटाएका छन् । औषधि खरीददेखि सङ्क्रमितलाई अस्पताल लैजाने काममा पनि युवाको अगुवाइमा भएको स्थानीय राजन पाइजाले बताउनुभयो । “हामी सङ्क्रमित भए पनि परिवारमा नपुगोस् भनेर घर जान सकेको छैन”, पाइजाले भन्नुभयो, “अझै सङ्क्रमणलाई नियन्त्रणमा लिने प्रयास भइरहेको छ ।”