उत्तरपूर्वी भारतमा जातीय हिंसाका कारण कम्तीमा ५४ जनाको मृत्यु भएपछि थप हिंसाबाट बच्न करिब २३ हजार मानिसले भागेर छिमेकी राज्यमा भागेका छन् ।
मणिपुर राज्यमा गत हप्ता एक आदिवासी समूहले निकालेको विरोध प्रदर्शनमा झडप भएपछि सवारी साधन र घरहरूमा आगजनी भएको भन्दै अधिकारीहरूले अश्रुग्याँस प्रहार गरेपछि अशान्ति सुरु भएको थियो ।
सेनाले म्यान्मारसँग सीमा जोडिएको राज्यमा हजारौं सैनिक तैनाथ गरेको छ भने कसैलाई हिंसात्मक गतिविधि फैलाउने ‘चरम अवस्थामा’ ‘देख्नेबित्तिकै गोली हान्ने’ आदेश जारी गरेको छ । द्वन्द्वग्रस्त क्षेत्रमा प्रशासनले निषेधाज्ञा जारी गरेको थियो भने इन्टरनेट सेवा बन्द गरेको छ ।
सेनाले आइतबार रातभर कुनै ठूलो झडप नभएको र चुराचन्दपुर जिल्लामा बिहान ७ देखि १० बजेको बीचमा कफ्र्यू हटाइएको जनाएको छ ।
“पछिल्लो २४ घण्टामा सेनाले हवाई निगरानी, युएभीको आवागमन र इम्फाल उपत्यकाभित्र सेनाको हेलिकप्टरको पुनः तैनाथीमार्फत निगरानी प्रयासमा उल्लेखनीय वृद्धि गरेको छ,” विज्ञप्तिमा भनिएको छ ।
“अहिलेसम्म कूल २३ हजार सर्वसाधारणलाई उद्धार गरिएको छ र उनीहरूलाई सैनिक शिबिरमा सारिएको छ,” विज्ञप्तिमा भनिएको छ ।
अधिकारीहरूले मृतकको आधिकारिक विवरण नदिए पनि राज्यको राजधानी इम्फाल र चुराचन्दपुरका अस्पतालका मुर्दाघरहरूमा जम्मा ५४ जनाको मृत्यु भएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
आदिवासी समूहहरू राज्यको बहुसङ्ख्यक मेइतेई समुदायलाई ‘अनुसूचित जनजाति’ श्रेणीअन्तर्गत मान्यता दिने सम्भावनाप्रति असन्तुष्ट छन् ।
यो पदनामले उनीहरूलाई संरचनात्मक असमानता र भेदभावलाई सम्बोधन गर्ने उद्देश्यले सकारात्मक कार्यको रूपमा सरकारी जागिर र कलेज भर्नाको निश्चित कोटा दिने गरेको छ ।
भारतको उत्तरपूर्वमा दशकौंदेखि जातीय र पृथकतावादी समूहहरूले अधिक स्वायत्तता वा भारतबाट स्वतन्त्रताको माग गर्दै प्रदर्शनहरू हुँदै आएका छन् र सन् १९५० को दशकदेखि मणिपुरमा कम्तीमा ५० हजार मानिसहरू मारिएका छन् ।
यी द्वन्द्वहरू वर्षौंदेखि कम हुँदै गएका छन् र धेरै समूहहरूले थप शक्तिका लागि नयाँ दिल्लीसँग सम्झौता गरेका छन् ।