महारानी एलिजाबेथको भदौ २३ गते राति निधन भएसँगै बेलायती साम्राज्यको बागडोर तत्कालीन राजकुमार चार्ल्स तृतीयले सम्हाल्दै आएका छन् ।
त्यसअघिसम्म 'प्रिन्स अफ वेल्स'का रुपले चिनिने वर्तमान राजा चार्ल्स तृतीयको भोली ६ मे शनिबार राज्याभिषेक हुने तयारी छ ।
राजा चार्ल्सको रानी (क्विन कन्सोर्ट) क्यामिलाका साथ लन्डनस्थित एक प्रसिद्ध गिर्जाघर वेस्टमिन्स्टर आबीमा राज्याभिषेक भएसँगै उनी आधिकारिक रुपमा बेलायतको राजा बन्नेछन् ।
तर, औपचारिक रूपमा राजा घोषणा हुनुअघि केही परम्परागत प्रक्रियाहरू पूरा गर्नुपर्ने हुन्छ। यससँगै उनलाई राजा चार्ल्स तेस्रोको नामले पुकारिनेछ ।
बेलायतमा ९ सय वर्षदेखि वेस्टमिन्स्टर आबीमा राजाहरूको राज्याभिषेक हुने गरेको छ । उक्त गिर्जाघरमा राज्याभिषेक हुने चार्ल्स ४० औं राजा हुनेछन् । राजा चार्ल्सले राजमुकुटसमेत पहिरिने उक्त समारोहमा विश्व नेताहरू, राजपरिवार सदस्य, सेलिब्रेटी, स्वयंसेवक, सशस्त्र फौजलगायत झन्डै दुई हजार पाहुना सहभागी हुने अपेक्षा छ ।
टेलिभिजनमार्फत संसारभरिका करोडौँ मानिसले प्रत्यक्ष हेर्ने अपेक्षा गरिएको एउटा बृहत् समारोहमा आर्चबिशप अफ क्यान्टरबरीले राजा चार्ल्सलाई श्रीपेच पहिर्याउने छन् ।
खर्च कति?
२.२३ किलो तौलको सुन र हीरा जवाहरात जडित उक्त श्रीपेच राजाहरूले राज्याभिषेकको बेला मात्रै पहिरन्छन् ।
राजाले यस समारोह सन् १९५३ मा भएको आफ्नी आमाको राज्याभिषेकको तुलनामा सानो, छोटो र विविधतायुक्त होस् भन्ने चाहेको बीबीसीले जनाएको छ ।