जागिरपछि आराम गर्ने, धर्म कर्म र समाज सेवामा लाग्ने धेरैको मनशाय हुन्छ । तर, जिल्लाको बागलुङ नगरपालिका–८ सिगानाका सुबेदार कृष्ण खड्का जागिरबाट अवकाशपछि गाउँमै व्यावसायिक उत्पादनमा सक्रिय हुनुहुन्छ । नेपाली सेनामा १८ वर्ष कार्यरत खड्का सुबेदार पदबाट अवकाश पछि बहराइन पुग्नुभयो । तर त्यहाँबाट फर्केर स्वदेशमै व्यवसाय थाल्नुभयो ।
सडक छेउकै दुई रोपनी जग्गामा खड्काको कुखुरापालन, माछापालन, तरकारी खेती, सिमाना खाजा तथा किराना पसलका साथै सिमाना फ्रेस हाउस छ । २०५२ सालमा नेपाली सेनामा भर्ति हुनुभएका खड्का अवकासपछि विदेशी मोहले तानेर बहराइन पुग्नुभयो । बहराइनमा पुगेपछि जागिर तथा विदेश भन्दा स्वदेशमै गएर उद्यम गर्छु भन्ने सोचेले झण्डै एक लाख ६० हजार तलबको जागिर एक वर्षमै छोडेर सिगाना फर्किएको उहाँको भनाइ छ । दुई वर्ष अघि सिगानामा परीक्षणका लागि खाजा घर, किराना पसल, कुखुरापालन तथा माछापालन शुरु गर्नुभयो ।
गाउँमै उद्यमशीलतामा रमाउने उदेश्यका साथ खड्का पोल्टी फर्म दर्ता गरेर व्यावसायिक ब्रोइलर कुखुरापालन उहाँले गर्दै आउनुभएको छ । उहाँले स्थानीय जातका कुखुरा समेत पाल्नुभएको छ । “अवकासपछि गाउँमा राजनीति गर्ने सोच राखेको थिए, तर गाउँमा राजनैतिक चेतनाको कमी देखे, अनि आफ्नै जग्गामा बहुउदेश्यीय सोच राखेर कुखुरापालन देखि बिक्री सम्मको सबै काम गर्दै आएको छु”, खड्काले भन्नुभयो, “मासिक ४०/५० हजार कमाउन सजिलै सकिँदो रहेछ, परीक्षणका लागि पालेका कुखुराबाट राम्रो आम्दानी भयो, अब कुखुरापालन विस्तारको योजनामा छु ।”
खड्काको फर्ममा अहिले ४ सय ५० ब्रोइलर कुखुरा, सानो पोखरीमा ४ सय ५० माछा, ५० लोकल कुखुरा छ । तरकारी खपत समेत आफ्नै पसलबाट हुन्छ ।
“विदेशमा आफ्नो देश जस्तो हुँदो रहेनछ, त्यसैले गाउँ फर्केर उद्यमशीलता रोजे, अहिले कुटानी पिसानी मिल समेत चलाउँदै आएको छु”, उहाँले भन्नुभयो, “लगानी थप्दै गएर पाँच रोपनीमा फर्म विस्तार गर्ने योजना छ ।” उत्पादन गरेको मासु, तरकारी तथा अण्डा आफ्नै पसलबाट खपत हुने गरेकाले बजार पठाउनु पर्ने झण्झट नरहेको खड्का बताउँनुहुन्छ ।
उहाँले एक जनालाई नियमित रोजगारी र अन्य काममा आवश्यकता अनुसार ज्यालामा काम गराउँदै आउनुभएको छ । अब एक हजार ब्रोइलर कुखुरा पाल्ने योजना उहाँको छ । कृषिमा विचौलियाको अन्त्य गर्न आफ्नो उत्पादन आफै उपभोक्ता सम्म पु¥याउनुपर्ने उहाँको धारणा छ । उहाँले कुखुरा, माछा, पसल तथा कुटानी पिसानी सबै उद्यमशीलतामा रु. १५ लाख लगानी गरेको बताउनुभयो ।