नवलपुर । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले नारायगढ बुटवल सडक विस्तारको काम थप भएको म्यादभित्र सक्नुपर्ने बताउनुभएको छ ।
सडक विस्तारका लागि आर्थिक रुपमा कुनैपनि समस्या नभएको भन्दै सडक विस्तारको काम समयमै सक्नुपर्ने बताउनुभयो ।
सडक विस्तारका विषयमा देखिएका समस्याहरू समाधान गर्नेगरी काम गर्नुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “हामीले जनताका गुनासो पनि सुन्यौँ, तिनको पनि सम्बोधन हुन्छ, व्यवसायीका गुनासाहरू पनि सुन्छौँ, आर्थिकरूपमा केही समस्या छैन, अरू कुराहरू पनि समन्वय गर्छौँ ।'
थपिएको म्यादभित्रै काम गराउने गरी सरकार लाग्ने भन्दै उहाँले आफूहरूको अर्जुनदृष्टि त्यसैमा रहेको बताउनुभयो । 'उहाँहरूले आफ्ना सम्झौताअनुसारको काम समयभित्र गर्छौँ भनेर कमिटमेन्ट गर्नुपर्छ अरू सम्झौताहरु हुँदैन', मन्त्री ज्वालाले भन्नुभयो, 'सडक विस्तारको काम ढिला भइरहेको भन्ने गुनासो आएपछि हामीले पहिलो प्राथमिकतामा यस सडकलाई राखेर नजिकबाट हेर्नका लागि निरीक्षण गरेका हौँ ।' सडक विस्तारको कामलाई समयमै सम्पन्न गर्नका लागि के के अप्ठ्यारा र चुनौतीहरू छन् भनेर नजिकबाट बुझ्न पाएको उहाँले बताउनुभयो ।
'सडक विस्तार गर्ने ठाउँमा बिजुलीका पोलहरू हटाइएका छैनन्, हटाइएको ठाउँमा तीव्ररुपमा काम भएको देखिएको छ', उहाँले भन्नुभयो, 'रूख कटान र व्यवस्थापनको काम अझै बाँकी रहेछ, समाधानको काम गर्नुपर्छ ।' एकपटक म्याद थप भएकाले कामको प्रगति कमजोर छ भन्ने कुरा पुष्टि भएको भन्दै उहाँले थपेको म्याद पनि अन्तिम चरणमा पुगेको बताउनुभयो । 'कतिपय ठाउँमा ब्ल्याक टप, ड्रेन, कन्स्ट्रक्सन, अक्सपाल्ट, पुल निर्माणको काम भइरहेको छ', उहाँले भन्नुभयो, 'ढिलो त भयो तर पछिल्लो समय काममा केही तीव्रता आएको छ ।'
यस वर्षभित्र ५० प्रतिशत काम सकिनेमा आशावादी हुने ठाउँ देखिएको मन्त्री ज्वालाले बताउनुभयो । एक सय १४ किलोमिटर लामो सडक अनुगमनका क्रममा उहाँले विभिन्न १३ स्थानमा कामको प्रगति हेर्दै निर्देशनसमेत दिनुभयो ।