काठमाडौँ । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताप्रति कांग्रेस सधैँ अडिग रहने बताउनुभएको छ ।
नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री स्व गिरिजाप्रसाद कोइरालाको १३ औँ स्मृति दिवसका अवसरमा नेपाल प्रेस युनियन केन्द्रीय कार्यसमितिले आज काठमाडौँमा आयोजना गरेको ‘नागरिक स्वतन्त्रताका लागि गिरिजाप्रसाद कोइरालाको योगदान’ विषयक विचार गोष्ठीमा उहाँले कांग्रेस सधैँ नागरिक स्वतन्त्रता र प्रेस स्वतन्त्रताको पक्षमा रहेको बताउनुभएको हो ।
“प्रेस स्वतन्त्रता बिना लोकतन्त्र फस्टाउन सक्दैन, कांग्रेसले सञ्चार क्षेत्र र प्रेस स्वतन्त्रतालाई सधैँ सकारात्मकरूपमा हेर्दै आएको छ”, उहाँले भन्नुभयो । उहाँले आगामी केही दिनभित्रै कांग्रेस सरकारमा जान लागेको जानकारी दिँदै कांग्रेसलाई सरकारमा गएर गल्ती गर्ने कुनै छुट नभएको बताउनुभयो ।
नेता डा कोइरालाले सरकारमा गएर दश दलीय गठबन्धनलाई सफल बनाउने जिम्मा कांग्रेसको भएको उल्लेख गर्नुभयो । वर्तमान सत्ता गठबन्धलाई राम्रोसँग सञ्चालन गर्ने जिम्मा कांग्रेसको भएको उहाँको भनाइ थियो ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले शान्ति प्रक्रियाका बाँकी कामलाई चाँडो टुङ्गोमा पु¥याउनुपर्ने बताउनुभयो । “शान्ति प्रक्रियाका बाँकी कामलाई टुङ्गोमा पु¥याउन ढिलासुस्ती गरे भविष्यमा यसले थप जटिलता निम्याउन सक्छ, पीडितको भावनामाथि चोट पु¥याउने काम गर्नुहुँदैन”, उहाँले भन्नुभयो । शान्ति प्रक्रियालाई पूर्णता दिँदा पीडितको भावनामाथि चोट पु¥याउने र अन्तर्राष्ट्रिय मूल्य, मान्यताविपरीत जान नहुने उहाँको भनाइ थियो ।
महामन्त्री थापाले गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा सुरु भएको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउने कामको नेतृत्व नेपाली कांग्रेसले नै लिनुपर्ने बताउनुभयो । गिरिजाप्रसाद कोइराला नेतृत्वको २०४८ सालको सरकारले लिएको आर्थिक नीति र निर्णयकै आधारमा मुलुकको अर्थतन्त्र अहिले पनि चलिरहेको उहाँको भनाइ थियो ।
कांगे्रस सहमहामन्त्री महालक्ष्मी (डिना) उपाध्यायले कांग्रेसभित्र रक्त सञ्चार गर्ने कुशल सङ्गठक गिरिजाबाबु भएको बताउनुभयो । “कांग्रेसभित्र विपी कोइरालाले सिद्धान्त दिनुभयो, गिरिजाबाबुले सङ्गठन विस्तार गर्नुभयो”, उहाँले भन्नुभयो । विद्यार्थी, महिला, तरुण, दलित, जनजाति, मजदुर सबैलाई उत्तिकै माया गर्ने नेता गिरिजाबाबु भएको उहाँको भनाइ थियो ।
कांग्रेस केन्द्रीय सदस्य रामहरि खतिवडाले नेपालको राजनीतिलाई शान्ति प्रक्रियामा लैजान स्व गिरिजाबाबुको महत्त्वपूर्ण भूमिका रहेको बताउनुभयो । सबै राजनीतिक शक्तिलाई सँगै लिएर अगाडि बढ्ने नेता गिरिजाबाबु भएको उहाँको भनाइ थियो ।
नेपाल ट्रेड युनियन कांग्रेसका वरिष्ठ उपाध्यक्ष महेन्द्रप्रसाद यादवले नेपालको श्रमिक आन्दोलनलाई अगाडि बढाउन गिरिजाबाबुले खेलेको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष एवं नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्ष धर्मेन्द्र झाले प्रेस स्वतन्त्रताका लागि सधैँ अगाडि बढ्ने गिरिजाबाबु शान्ति प्रक्रियाका नायक भएको बताउनुभयो ।
नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेल, महासङ्घका पूर्वअध्यक्षहरू हरिहर विरही, तारानाथ दाहाल र विष्णु निष्ठुरी, नेपाल प्रेस युनियनका पूर्वअध्यक्ष किरण पोखरेल, नेपाल प्रेस युनियनका सल्लाहकार अनिता विन्दु, नेपाल प्रेस युनियनका उपाध्यक्ष नकुल अर्याल, महासचिव दिलिप पौडेललगायतले नागरिक स्वतन्त्रता आन्दोलनलाई अगाडि बढाउन महत्त्वपूर्ण भूमिका खेल्नुभएका स्वर्गीय कोइराला निडर, निर्भीक र दृढ शक्ति भएको राजनीतिक नेता भएको बताउनुभएको थियो ।
कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्सालले नेपालको पत्रकारिताको विकास र नेपाल प्रेस युनियन स्थापनामा गिरिजाबाबुको भूमिका महत्त्वपूर्ण रहेको बताउनुभयो ।