दुर्गमका नागरिकको स्तरीय उपचार सेवाको त के कुरा गर्नु बिरामी पर्दा स्वास्थ्य चौकी लैजान स्ट्रेचरसम्म पाउँदैनन् । दुर्गमका अधिकांश बिरामीलाई डोको र कुर्सीमा बोकेर स्वास्थ्य चौकी पुर्याइन्छ ।
धेरैजसो बिरामी डोको र कुर्सीसमेत नपाएर आफन्त र छरछिमेकको खाली पिठ्यूँमा अडिएर निको हुने आशमा स्वास्थ्य चौकी पुग्छन् । यसरी पिठ्यूँमा अडिएर स्वास्थ्य चौकीसम्म पुग्नु यहाँका बिरामीको नियति नै बनिसकेको छ । त्यसमध्येका एक ज्वलन्त उदाहरण त्रिपुरासुन्दरी नगरपालिका वडा नं ९ चुँ गाउँ बस्ने ८० वर्षीया सुकमती रोकाय हुनुहुन्छ ।
उमेरले नेटो काटिसकेकी रोकाय करीब एक महिनादेखि बिरामी पर्नुभयो । उहाँलाई पेट दुख्ने समस्या थियो । घरमै सञ्चो हुने आशमा उहाँलाई एक महिनासम्म घरेलु तथा बजारिया औषधि किनेर खुवाइयो । सञ्चो हुने छाँटकाँट नदेखिएपछि छोरा लालबहादुरले गत बुधबार बिहानै आमाको उपचार गर्न अन्यत्र लैजाने तयारी गर्नुभयो ।
घर नजिकैको लिकु स्वास्थ्य चौकी त्यहाँ कार्यरत कर्मचारीमा कोरोना देखिएको भन्दै एक साताका लागि बन्द गर्न नगरपालिकाले भनेको थियो । गाउँसम्म त कच्ची बाटो पुगेकै थियो । गाडी रिजर्भ गरेपछि मात्रै जाने भएकाले स्ट्रेचरमा बोकेरै भए पनि अस्पतालसम्म पुर्याउने रोकायले योजना बनाउनुभयो ।
थप उपचारका लागि आफ्नै नगरपालिकामा केही महिनाअघि मात्र सञ्चालित नगर अस्पतालमा लैजाने सल्लाह भयो । नगर अस्पतालमा एकजना एमबिबिएस चिकित्सक भएकाले स्तरीय सेवा पाउने सबैको आशा हुन्छ । जिल्ला सदरमुकाम दुनैमा रहेको एकमात्र जिल्ला अस्पतालमा कोरोनाका बिरामी बढेकाले वृद्ध आमालाई केही भइहाल्छ कि भन्ने डरले त्यहाँ लैजान लालबहादुर डराउनुभयो ।
मङ्गलबार रातिदेखि एकमेसले पानी परिहेको थियो । पानी फाट्ने छाँटकाँट थिएन । लगातार भइरहेको बर्षाका कारण चिसो पनि ह्वात्तै बढेको थियो । बिरामी सिकिस्तै भएकाले हिँडाएर लैजान सम्भव थिएन । बुधबार बिहानै स्ट्रेचर खोज्न रोकाय गाउँतिर डुले पनि स्ट्रेचर भने पाउनु भएन । उहाँ नजिकैको लिकु स्वास्थ्य चौकी पुग्नुभयो । त्यहाँका स्वास्थ्यकर्मीले पनि स्ट्रेचर छैन भनेर फर्काइदिए । त्यहाँ स्ट्रेचर प्रहरीले दिएपछि उहाँ घर फर्किनुभयो ।
एकातिर स्ट्रेचरमा बोक्न चारजना लाग्ने अर्कोतिर कोरोनाका डरले कुर्सीमै बोकेर लैजाने लालबहादुरले निधो गर्नुभयो । लालबहादुरका घरमा कुर्सी थिएन । छिमेकीका सहयोगमा वडा कार्यालयमा कुर्सी मागेर बिरामी आमालाई बोकेर अस्पताल पुर्याइयो ।
बाहिर निरन्तर वर्षा भएकाले बिरामीलाई पानीबाट जोगाउन कुर्सीलाई प्लास्टिक बेर्नाका साथै कुर्सीको बोक्ने भागमा काठले बाँधेरै भएर पनि बिरामीलाई अस्पताल पुर्याइयो ।
सङ्घीय संरचनाअनुसार ९ नं वडामा पर्ने चुँ गाउँ पहिला साविका तीन वडामा विभक्त थियो । सोही कारणले स्वास्थ्य स्वयम्सेविका पनि तीन जना राखिएको छ ।
“शुरुमा गाउँमा रहेका स्वास्थ्य स्वयम्सेविकासँग स्ट्रेचर मागियो, आफूहरुसँग भएको स्ट्रेचर गाउँका धामी र ठूलाबडा मान्छे बोक्ने हो, अरूलाई दिन मिल्दैन भन्ने जवाफ फर्काएपछि स्ट्रेचरको खोजीमा अन्य ठाउँमा डुलिएको हो”, बिरामीका ज्वाइँ सतबहादुर बोहाराले भन्नुभयो ।
शुरुमा स्वास्थ्य स्वयम्सेविका र नजिकैको स्वास्थ्य चौकी चाहर्दा पनि स्ट्रेचर नपाएपछि प्रहरी चौकीबाट मागेर ल्याएको छोरा लालबहादुरले बताउनुभयो । “आमाको स्वास्थ्य अवस्था खासै सुधार भएको छैन्, डाक्टरले पेट साह्रो भएकाले एकपटक एक्स–रे गरेर हेर्नुपर्ने बताएका छन्, अस्पतालमा एक्स–रे मेशिन रैनछ, एक्स–रेका लागि जिल्ला अस्पताल जानुपर्छ भनेका छन्”, रोकायले भन्नुभयो ।
स्वास्थ्य चौकीमै स्ट्रेचर छैन
लिकु स्वास्थ्य चौकीमा स्ट्रेचर नभएको धेरै नै भइसक्यो । कोही सर्वसाधारण बिरामी परेर स्ट्रेचर माग्न आइहालेमा स्वास्थ्य चौकीका कर्मचारीले स्वयम्सेविका कहाँ वा प्रहरी चौकीमा पठाइदिन्छन् ।
लिकु स्वास्थ्य चौकीमा पहिलेदेखि नै स्ट्रेचर नभएको इन्चार्ज नगेन्द्र बोहोराले बताउनुभयो । स्वास्थ्य चौकीमा कार्यरत एकजना कर्मचारीलाई कोरोना पोजेटिभ देखिएकाले छ दिनका लागि बन्द गरिएको बोहोराले जानकारी दिनुभयो ।
चिकित्सक छन् एक्स–रे मेशिन छैन
नगरपालिकाले केही महिनाअघि मात्र सञ्चालन गरेको नगर अस्पतालमा एकजना चिकित्सक राखे पनि एक्स–रे मेशिन भने राखेको छैन । एक्स–रे मेशिन नहुँदा एक्स–रे गर्नुपर्ने बिरामीलाई तीन घण्टा टाढा रहेको जिल्ला अस्पतालमा सिफारिस गर्नुपर्ने बाध्यता छ ।
नगर अस्पस्तालमा एक्स–रेकै लागि बिरामीलाई रिफर गर्नुपर्ने अवस्था आउनु दुःखदायी भएको उपचारका लागि पुगेका एक बिरामीले गुनासो गर्नुभयो ।