काठमाडौँ । स्वतन्त्र विद्याथी युनियन(स्ववियु)को निर्वाचनका लागि आज आइतबार उम्मेदवारमाथि दाबी विरोध गर्ने कार्यतालिका छ ।
त्रिभुवन विश्वविद्यालय, स्ववियु निर्वाचन, निर्वाचन केन्द्रिय अनुगमन तथा समन्वय समितिका अनुसार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म उम्मेदवारमाथि दाबी विरोध गर्न पाइने छ ।
शनिबार प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारको हकमा सो दाबी विरोध गर्नुपर्ने त्रिभुवन विश्वविद्यालयले जनाएको छ । सो दाबी विरोध पछि भोलि ५ बजेसम्म छानबिन गरी उम्मेदवारको नामावली प्रकाशन गरिनेछ। स्ववायु निर्वाचन आगामी चैत ५ गते हुँदैछ ।
स्ववियु निर्वाचनको कार्यतालिका प्रकाशनपछि क्याम्पसको वार्षिक प्रणालीअन्तर्गतका स्नातक प्रथम वर्षको विद्यार्थी भर्ना बन्द गरिएको छ ।
निर्देशनालयका निर्देशक अधिकारीले स्ववियु निर्वाचनको प्रचार-प्रसार फागुन २९ गतेदेखि चैत २ गते राति १२ बजेसम्म समय तोकिएको छ ।
त्रिविमा २८ वर्ष उमेरहद र मिश्रित निर्वाचन प्रणालीमा निर्वाचन गर्न लागिएको हो। निर्वाचनमा विसं २०५१ चैत १८ गते जन्ममिति र सोभन्दा पछि जन्मेका विद्यार्थी उम्मेदवार हुन पाउनेछन् ।
निर्वाचनका लागि त्रिविले माघ २२ गते नै स्ववियु निर्वाचनसम्बन्धी निर्देशिका पारित गरेको छ। स्ववियुको अध्यक्ष, सचिव र कोषाध्यक्ष तथा ५० प्रतिशत सदस्य प्रत्यक्ष निर्वाचन प्रणाली र उपाध्यक्ष र सहायक सचिव तथा ५० प्रतिशत सदस्य समानुपातिक निर्वाचन प्रणालीबाट चयन हुनेछन् ।
स्ववियु कार्यसमिति दुई सय विद्यार्थी बराबर ११ सदस्यीय कार्यसमिति, दुई सय एकदेखि एक हजारसम्म विद्यार्थी भए १३ जनाको कार्यसमिति, एक हजार एकदेखि तीन हजारसम्म भए १९ जनाको र तीन हजार एकदेखि पाँच हजारसम्म २१ सदस्यीय कार्यसमिति हुने उल्लेख गरिएको छ ।
निर्वाचन देशभरिका त्रिविमा ६२ आङ्गिक र एक हजार ४० सम्बन्धन प्राप्त क्याम्पसमा निर्वाचन हुँदैछ। त्रिविमा स्ववियु निर्वाचन विसं २०१८/१९ देखि प्रत्यक्ष प्रणालीमा हुँदै आएको थियो। २०३० सालसम्म प्रत्येक वर्ष स्ववियु निर्वाचन हुँदै आएकामा विसं २०३६ देखि प्रत्येक दुई-दुई वर्षमा निर्वाचन हुँदै आएको थियो ।
त्रिविमा विसं २०७३ देखि मिश्रित निर्वाचन प्रणालीमा स्ववियु निर्वाचन भएको थियो । विसं २०७३ मा उपत्यकामा नौ र उपत्यका बाहिर १७ क्याम्पसमा निर्वाचन भएको थियो ।
प्रत्येक दुई-दुई वर्षमा हुने स्ववियु निर्वाचन त्रिविमा विगत एक दशकदेखि हुनसकेको छैन । प्रत्येक दुई-दुई वर्षमा हुने निर्वाचन २०६५ सालयता नियमित हुनसकेको छैन ।
२०६५ साल चैत ६ गतेपछि एकैपटक आठ वर्षमा २०७३ चैत १५ गते स्ववियु निर्वाचन भएको थियो ।