काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सङ्घीय गणतन्त्र नेपालको मर्मानुसार नेपाली सङ्गीत, कला र संस्कृतिको विकासमा लाग्न तीनवटै प्रज्ञा-प्रतिष्ठानका कुलपतिलगायत प्राज्ञहरूलाई आग्रह गर्नुभएको छ ।
नेपाल लतिलकला प्रज्ञा प्रतिष्ठानको आयोजनामा आज तीनवटै प्रज्ञा-प्रतिष्ठानका नवनियुक्त प्राज्ञहरूबीच भएको परिचयात्मक कार्यक्रमलाई सम्बोधन गर्दै पर्यटनमन्त्री किरातीले कला संस्कृतिको नयाँनयाँ खोज अनुसन्धान गरी समाजका वास्तविक इतिहासका तथ्यलाई बाहिर ल्याउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले अहिले प्रतिष्ठान परीक्षाको घडीमा रहेको र परीक्षामा कुनै हालतमा पनि फेल हुन नहुनेमा जोड दिनुभयो । उहाँले भन्नुभयो,'परीक्षामा फेल भइयो भने हामी फेल हुने होइन, राज्य व्यवस्था नै फेल हुने हो ।' उहाँले सचेत बनेर काम गर्न सुझाव पनि दिनुभयो ।
उहाँले समाजको जरामा बसेर समाजको शल्यक्रिया गर्नुपर्ने अवस्था रहेको उल्लेख गर्दै गणतन्त्रको मर्मलाई कदापि भुल्न नहुनेमा जोड दिनुभयो ।
मन्त्री किरातीले समाजवादोन्मुख राज्यव्यवस्था हुने भन्ने संविधानको भावनालाई आत्मसाथ गर्दै त्यहीअनुसार अघि बढ्नुपर्नेमा जोड दिनुभयो । नेपाली समाजको विविधतालाई ध्यान दिन आग्रह गर्दै उहाँले जनताको ज्ञानलाई संरक्षण, विकाससँगै आधुनिकीकरण गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राई, ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपति निशा शर्मालगायत तीनवटै प्रतिष्ठानका उपकुलपति, सदस्यसचिव, प्राज्ञसभा सदस्य र प्राज्ञ परिषद् सदस्यको सहभागिता थियो ।
कार्यक्रममा ती प्रतिष्ठानका कुलपतिहरूले तीनवटै प्रतिष्ठान मिलेर साझा कार्यक्रमका साथ अघि बढ्ने सके थप प्रभावकारी हुने भएकाले त्यो अभ्यास गर्न लागिएको जानकारी गराउनुभएको थियो ।