काठमाडौँ । उच्च अदालत पोखराले नाबालिग बलात्कार अभियोग लागेका अभिनेता पल शाहलाई सफाई दिएको छ ।
सफाई पाएसँगै शाह भोलि सोमबार जिल्ला कारागार तनहुँबाट रिहा हुने उनका कानुन व्यवसायी बरिष्ठ अधिवक्ता कमलामोहन वाग्लेले जानकारी दिए ।
नाबालिग बलात्कार अभियोगमा जिल्ला अदालत नवलपुरले दिएको आदेश विरुद्ध जिल्ला सरकारी वकिल र अभियुक्त शाह पक्षले उच्च अदालतमा दिएको पुनरावेदनमा आइतबार भएको बहसपछि अदालतले अभियोग दाबी नपुग्ने फैसला गरेको हो ।
नवलपुर जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्यको एकल इजलासले गत भदौ २० गते शाहलाई बलात्कार अभियोगबाट सफाई दिएको थियो । उक्त इजलासले शाहलाई बाल यौन दुरुपयोगमा २ बर्ष ६ महिना कैद सजाय, २५ हजार जरिवाना र पीडितलाई १० लाख क्षेतीपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।
उक्त फैसलाका विरुद्ध जिल्ला सरकारी वकिलको कार्यालय र अभियुक्त शाहले उच्च अदालत पोखरामा पुनरावेदन दिएका थिए ।
उच्च अदालतका कायममुकायम मुख्य न्याायधीश डिल्लीराज आचार्य र न्यायाधीश श्रीधराकुमारी पुडासैनीको संयुक्त इजलासमा आइतबार बहस भएको थियो ।
बहसमा नाबालिगका तर्फबाट उच्च सरकारी वकिल कार्यालयका उपन्याायधिवक्ता रामप्रसाद अधिकारीले बहस गरका थिए भने अभियुक्तका तर्फबाट बरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले, कृष्णबहादुर थापा, अधिवक्ता माधव घिमिरे, गणेशप्रसाद अधिकारी र जनकराज ढुङ्गानाले बहस गरेका थिए ।
शाहले सुटिङका क्रममा बलात्कार गरेको भन्दै २०७८ फागुन ११ गते तनहुँमा र फागुन १५ गते नवलपुर प्रहरीमा उजुरी दिएकी थिइन् । तनहुँ र नवलपुर जिल्ला अदालतले बकपत्र गर्दा पीडित १७ वर्षीया नाबालिगले आफूमाथि बलात्कार नभएको भन्दै बयान फेरेकी थिइन् ।