रवि लामिछाने यतिबेला नेपाली राजनीतिक वृतमा मात्र नभएर आम जनसाधारमा पनि परिचित नाम हाे । गत मंसिर ४ गतेसम्पन्न प्रतिनिधिसभाकाे निर्वाचनमा चितवन- २ बाट भारी बहुमतका साथ सांसद् बनेका उनै लामिछाने प्रधानमन्त्री पुष्पकमल दाहाल'प्रचण्ड' नेतृत्वकाे सरकारकाे उपप्रधान तथा गृहमन्त्री बने ।
पत्रकारिता र त्यसमा पनि जनसाधारणकाे दैनिकी भाेगाइ र दु:खका कुराहरूमा सम्बन्धित व्यक्तिसँग सम्वाद गरी सवाल जवाफ गर्ने खराे कार्यक्रम प्रस्ताेताका रुपमा परिचित उनी आफ्नाे त्याे पाटाेलाई बिट मारेर गत निर्वाचनकै समयमा राजनीतिका लागेका थिए ।
उनै लामिछाने हिजाे माघ १३ गते शुक्रबार नेपालकाे नागरिक नभएकाे कारण आफूले पाएकाे पद तथा जिम्मेवारीबाट च्यूत भएका छन् । उनकै भाषामा भन्नुपर्दा यतिबेला 'अनागरिक' भएका उनकाे विषयमा यतिबेला अनेकन चर्चा परिचर्चा र बहस चलिरहेका छन् ।
यसै सन्दर्भमा कानुन विषयमा स्नातक तेस्राे सेमेष्टर अध्ययनरत पर्वतकी विप्लवी न्याैपानेकाे विचार यस्ताे छ:
रवि लामिछानेका कमजोरीहरू केलाएर साध्य छैन । मान्छे हो गल्तीहरू हुन्छन् । उनको २ विवाह , नागरिकताको र पासपोर्टको विषय आदि उनका व्यक्तिगत विषय थिए । उनी कति सही? कति खराब? त्यो त हेर्नै बाँकी थियो । उनले गरेको पत्रकारिता, दल दर्ता, निर्वाचनमा र सरकारमा संलग्न भएपश्चात् हाँसिल गरेका असाधारण उपलब्धी यी चाहिँ सार्वजनिक चासोकै विषयमा पर्दछन् । जनमानसमा उनीप्रति गहिरो सद्भाव थियो र अझैसम्म छ ।
यति भन्दै गर्दा उनी दुधले नै नुहाएका मानिस भने पक्कै होइनन् । जसरी मानिसले उनको देवत्वकरण गरे त्यो चाहिँ सहि होइन । उनले गरेको पत्रकारिता र राजनीतिमा देशभन्दा बाहिर रहेका युवा र देशमै रहेका वृद्धहरूको साथ धेरै देखिन्छ । यति हुँदाहुँदै पनि उनिमाथि धेरै आलोचना गरिन्छन् । उनले टेलिभिजनमा काम गर्दै गर्दा ठूला ठूला व्यापारी र उद्योगीहरूको विरोध खासै गरेनन् । उनका धेरै क्रियाकलापहरू शंकास्पद छन् । पत्रकारितामा उनलाई समर्थन गर्ने सङ्गसङ्गै विरोध गर्नेपनि उत्तिकै छन् ।
जब उनले राष्ट्रिय स्वतन्त्र पार्टी नामको दल दर्ता गरे र चुनाव चिन्ह सार्वजनिक गरे देशका पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पनि त्यसमा आशंका व्यक्त गरेका थिए । उनले अनेक आरोह , अवरोह पार गर्दै निर्वाचनमा विजय प्राप्त गरे । आफूले मात्रै जितेनन् आफ्नो दललाई नै जिताए । निर्वाचनका क्रममा पार्टीका कार्यक्रमहरूमा उनले देशका धेरै स्थानमा गएर सम्बोधन त गरे तर ती सभाहरू पनि खर्चिला नै देखिन्थे । एउटा पत्रकार जसले अमेरिकामा हुँदाको सम्पत्ति जेठी श्रीमती र छोरीहरूलाई सुम्पिएको छ कहाँबाट आयो त्यत्रो खर्च? शालिकराम पुडाशैनीको हत्यामा उनलाई आरोप लागेतापनि त्यसको अनुसन्धान निष्पक्ष हुन पाएन। समर्थकहरूले अनुसन्धान र न्यायालय नै प्रभावित हुनेगरी भुक्न पुगे । ठूला मान्छेले अपराध नै गर्दैनन् भन्ने मानसिकता हामीमा भइहँदा पीडितले न्याय प्राप्त गर्न निकै कठिन परिरहेको छ ।
रास्वपाले निर्वाचनमा प्रत्यक्ष र समानुपातिक गरी २० सिट प्राप्त गर्यो । धेरै राजनीतिक विश्लेषक, संविधानविद् र उनका शुभेच्छुकहरूले उनलाई सरकारमा सहभागी नहुनु, सर्वप्रथम त व्यवस्थालाई राम्रोसँग बुझ्नु, ५ वर्षसम्म सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्नु, दललाई अझै मजबुत बनाएर अगाडि लैजानु, कार्यकर्ता र संगठन निर्माणमा ध्यान दिनु भन्दै सल्लाह सुझाव दिरहेका थिए। हामीले पढ्दै आइरहेको कुरा 'Politics is always Struggle for Power'(राजनीति सधै शक्तिका लागि गरिने संघर्ष हाे) उनको सन्दर्भमा पनि याे भनाइ सही सावित भयो । अरु नेता जस्तै उनीपनि सत्ताको मोहबाट टाढा रहन सकेनन् । उनले कुनै विद्लाई सुनेनन् । प्रतिपक्षविहीन सरकार भयो । प्रधानमन्त्रीका लागि नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका पुष्कमल दाहाल 'प्रचण्ड'ले ९९ प्रतिशत विश्वासको मत प्राप्त गरे ।
सरकार विभिन्न विपतबाट गुज्रिरहेको थियो । अस्थीर सरकार, बिग्रदाे अर्थतन्त्र कमजोर परराष्ट्र सम्बन्ध, राज्यका हरेक निकायमा दलीय भागबन्डा, चरम भ्रष्टाचार, तमाम विकृति, कमजोर न्यायालय, विश्वव्यापी अर्थतन्त्र र मानवीय संवेदनामा कोभिडले पुर्याएको असर आदि! त्यसमा पनि प्रचण्ड र केपी जस्ता नाइकेहरूले चलाइरहेको देश ! भित्तामा पुर्याउन नै गृहमन्त्रालय दिएका हुन भन्ने त सबैमाझ छर्लङ्ग थियो नै ।
यस्तो अवस्थामा सरकारमा समावेश हुनु उनका लागि फलाम चपाउनु सरह भयो । उनी सरकारमा समावेश भएपनि धेरैले उनलाई समर्थन गरिरहे । पोखरी सफा गर्नलाई किनारामा बसेर हेरेर हुँदैन, डुबुल्की नै मार्नुपर्छ भनेर उनी आफैले भनेकाले उनका शुभचिन्तक फेरि पनि 'कन्मिन्स' भए ।
उनले सरकारमा गएर देश र जनताकाे लागि काम गर्छन् भन्ने आशा आम मानिसमा कम भइसकेकाे थियो । यति विमान दुर्घटना, प्रेम आचार्यको आत्महत्याका सन्दर्भमा पनि उनी कमजोर ठहरिए । पार्टीको वा कसैको पनि बहुमत नहुँदानहुँदै पनि स्वाँस्वाँ र फ्वाँफ्वाँ गर्दै एकदम हतार गरेर जब उनी सत्तामा गए, जे गरे वा बोले जस्तो कि, क्याबिनेटभित्रैको प्रतिपक्ष बन्नेदेखि पहिलो निर्णय निर्मला हत्याकाण्डको फाइल उतार्ने हुँदै भीभीआईपीका सुरक्षाकर्मी फिर्ता बोलाउने र क्रमश क्रसर उद्योगहरू बन्द गर्नेसम्म आइपुग्दा त आफ्नै निर्णयहरूमध्ये कुनै एकले वा ती सबै निर्णयहरूले नै स्वत:सरकारबाट गलत्याउने थिए ।
उनीबाट विद्वानहरूले कम आशा गरेका छन् । उनका हरेक गतिविधि पश्चिमा शक्तिको प्रभावमा गरेजस्ता देखिन्छन् । उनी असल हुन या खराब त्यो त सिद्ध हुन बाँकी नै थियो । नेपालको स्वाभिमानमा नै हानी पुग्न सक्ने गम्भीर आशंका धेरैले गरेका छन् । जेजस्तो भएपनि समग्रमा उनको जीवन प्रेरणादायी छ । उनले देशमा हुँदै विदेशमा गरेका कार्य, नेपाल फर्किएर बिउँझ्याइदिएको संचार क्षेत्र, हरेस नखाने र निरन्तर लढेर अगाडि बढ्ने उनको बानीले हामीलाई राम्रो पाठ पढाएको छ । उनले स्थापना र नेतृत्व गरेको दल यो देशको वैकल्पिक शक्तिको रुपमा उदाउने चरम सम्भावना थियो । मुख्यत नेपालका पुराना राजनैतिक दल प्रतिको वितृष्णाका कारण उनले जनताको भारी मत र स्नेह प्राप्त गरे ।
नागरिकताको कारण उनको पद खारेज भयो । उनी ३२ दिने कार्यकाल सङ्गसँगै गृहमन्त्रालयको जिम्मेवारीबाट च्यूत भए । पासपोर्टको विषयले उनलाई जीवनको कुन दिशातिर मोड्छ त्यो त हेर्नै बाँकी छ । यद्यपि, यी सबै घटनाक्रमले उनलाई अझै सशक्त र सजग बनाइदिएको छ । अब उनले नागरिकता लिएपछि उप-निर्वाचनमा भाग लिएर जित हाँसिल गरेभने उनी उदाउने सम्भावना धेरै छ । तर उनले व्यवस्थालाई पूर्ण स्वीकारेका थिएनन् । संघीयताको पुनःसंरचना, संगठन निर्माण र विस्तारको सन्दर्भमा योजनाविहीनता, दलको स्पष्ट उद्देश्य, दृस्ठिकोण र कार्ययोजनाको कमी जस्ता विषयलाई उनले परिपक्वता प्रदान गर्न नसकेमा उनको दल टिक्नेवाला छैन । यदि यी र यस्ता विषयलाई ख्याल गरेर अगाडि बढेभने उनी देशकै प्रधानमन्त्री नबन्लान भन्न सकिँदैनँ । अब उनले नागरिकता लिएपछि उपनिर्वाचनमा भाग लिएर जित हासिल गरे भने वा भाग नलिइकनै दलको सुदृढीकरणमा लागेभने उनी उदाउने सम्भावना धेरै छ । केही गर्छु भने आशाको दीप बालेका, हुटहुटी भएका उनलाई शुभकामना !