काठमाडौँ । सर्वोच्च अदालतले समयमा वकालतनामा पेश नगरेका वकिललाई फर्काइदिएको छ ।
बहसका लागि इजलासमा पुगे पनि रिट निवेदक ज्ञानेन्द्र आरणको तर्फबाट बहसमा पुगेका वसन्त रिमाललाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले नमिल्ने भन्दै फर्काइदिएका हुन् । सर्वोच्चले माघ ४ गतेसम्म वकालतनामा लिए पनि रिमालले ५ गते मात्रै नाम टिपाएको पाइएको हो ।
बेन्चमा बहसका लागि उभिएका रिमाललाई प्रधानन्यायाधीश राणाले भने, ‘तपाईंले ५ गते नाम टिपाउनुभएको हो भने मिल्दैन, हामीले ४ गतेसम्म मात्रै वकालतनामा लिएका हौँ, तपाईं जानुुहोस् ।’ प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामाथि सर्वोच्च अदालतको संवैधानिक इजलासमा बिहीबारको सुनुवाइ सकिएको छ । यो मुद्दामा शुक्रबार पुनः सुनुवाइ हुनेछ ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणासहित विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको इजलासमा भइरहेको सुनुवाइमा बिहीबार रिट निवेदकतर्फका कानुन व्यवसायीहरू टीकाराम भट्टराई, गुणनिधि न्यौपाने, ओमप्रकाश अर्यालले बहस गरे । रिट निवेदक २५ वर्षीय समृत खरेलले पनि १५ मिनेट बहस गरे ।
बुधबारको बहसमा कानुन व्यवसायीहरू चन्द्रकान्त ज्ञवाली, कृष्णप्रसाद भण्डारी, अनिता मानन्धर, सुरेन्द्रविक्रम केसी, कञ्चनकृष्ण न्यौपाने, नवराज पाण्डे र झलकुमारी विश्वकर्मा थिए ।